बालकुमारी घटनामा मृतकका परिवारलाई थप क्षतिपूर्ति र रोजगारी दिन सरकारलाई निर्देशन

समितिले उक्त घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारेमा छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

काठमाडाैँ– प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटनामा मृतकका परिवारलाई थप क्षतिपूर्ति तथा रोजगारी दिलाउन सरकारलाई निर्देशन दिएको छ। 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रबार ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जनाको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए। यसअघि सरकारले दिएको १० लाख आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले थप आर्थिक सहायता उपलब्ध गराउन र उनका परिवारलाई रोजगारी सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको उनले बताए।

यस्तै, समितिले उक्त घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाबारेमा छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।  

बैठकले घटनासम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

यस्तै, सुरक्षा निकायलाई आवश्यक श्रोतसाधन यथेष्ठ र पर्याप्त मात्रामा उपलब्ध गराउन पनि निर्देशन दिने निर्णय भएको सभापति खतिवडाले बताए।