काठमाडौँको पानी अभावको समस्या तत्काल समाधान गर्न माग गर्दै प्रदर्शन

नेकपा एकीकृत समाजवादी, काठमाडौँ महानगर कमिटीले काठमाडौँ उपत्यकाको पानी अभावको समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादी, काठमाडौँ महानगर कमिटीले काठमाडौँ उपत्यकाको पानी अभावको समस्या तत्काल समाधान गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ। त्रिपुरेश्वरस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड परिसरमा ‘काठमाडौँमा पानीको हाहाकार, जनतालाई पानी पिउन देऊ सरकार’ भन्दै आयोजना गरिएको विरोध कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसमेत उपस्थिति थिए। 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर काठमाडौँका प्रमुखलाई सम्बोधन गर्दै नेकपा एसको काठमाडौँ महानगर कमिटीका अध्यक्ष रामेश्वर श्रेष्ठ तथा सचिव सरिता खनालले बुझाएको ज्ञापनपत्रमा काठमाडौँ उपत्यकामा देखिएको पानीको हाहाकार तत्काल समाधान गर्न माग गरिएको छ।

“मानव जीवनको आधारभूत अत्यावश्यक वस्तु पानी जस्तो कुरामा खेलबाड गर्नु महानगरवासीप्रति ठूलो उपहास र मानव जीवनप्रति बेवास्ता गरेकोमा हामीले गम्भीर रूपमा लिएका छौँ। उपत्यकाको खानीपानीको व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालयसमेत निष्क्रियजस्तो रहेको अवस्थामा हाम्रो महानगर कमिटीको ध्यानाकर्षण भएको छ,” ज्ञापनपत्रमा भनिएको छ।

ज्ञापनपत्रमा अर्बौँ खर्च भइसकेको मेलम्ची परियोजनाबाट कुनै पनि बहानाबाजी नगरीकन नियमित रूपमा नयाँ बिछ्याइएको पाइप लाइनमार्फत महानगरका ३२ वटै वडाका घरका धारामा प्रत्येक दिन नियमित १ घण्टा पानी आउने व्यवस्था गर्न माग गरिएको छ। त्यस्तै, महानगरभित्रका परम्परागत ढुंगेधारा, कुवा, इनारहरूको संरक्षण गरी यी स्थानीय स्रोतको पनि परिचालन गर्न माग गरिएको छ।