बन्द भयो चियाको उत्पादन, बोट छाँटकाँटमा लागे किसान

उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन्। प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ।

इलाम– चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो। चियाको उत्पादन मंसिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाँटमा लागेका छन्। प्रायः बर्खायाममा उत्पादन हुने चिया मंसिर अन्तिमदेखि पूर्णरूपमा बन्द हुने गरेको छ।

उत्पादन रोकिएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन्। प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ।

उत्पादन बन्द भएपछि किसान भने यतिबेला चिया बोटको काट्न व्यस्त छन्। यतिबेला काटिएको चियाबाट पुनः वैशाख महिनादेखि उत्पादन शुरू गरिन्छ। योबेला चियाको बोटलाई छाँटकाँट गर्नुपर्ने हुन्छ। मल हाल्ने बेला पनि यही हो। केही किसानले चैत महिनाभित्रै चियाको फेद वरिपरि खनेर मल हाल्ने गर्छन्। बर्खामा पलाउने झारलाई समेत यही बेला फाल्ने गरिन्छ।

आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाँट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि किसानलाई तालिम दिन थालेकाले आधुनिक तरिकाबाट चिया काट्न थाले पनि अझै पर्याप्त सिकाइ नपुगेको सम्बद्ध किसानको भनाइ छ।

गत वर्ष नै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि उक्त बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानलाई केही सहज भएको थियो। बीचमा चियाखेतीप्रति कम चासो दिएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको उनीहरू बताउँछन्।

सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मंगलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत स्थानमै पुगेर उक्त बोर्डले दुई हजार ७९० जनालाई तालिम दिएको थियो।

नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमै खपत हुने तथ्यांकमा उल्लेख छ। करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको छ। उक्त बोर्डको तथ्यांकअनुसार इलाममा आठ हजार ८७६ किसान चियामा आश्रित छन्। जिल्लाको सात हजार २३६ हेक्टर जमिनमा चियाखेती भइरहे पनि समयमा चियाको मूल्य पाउन अझै पनि किसानलाई समस्या हुँदै आएको छ।