युवतीहरूलाई दिल्ली पुर्‍याइ यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ

प्रलोभनमा पारी युवतीहरूलाई नेपालबाट भारतको दिल्ली पुर्‍याएर यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। 

काठमाडौँ– विभिन्न प्रलोभनमा पारी युवतीहरूलाई नेपालबाट भारतको दिल्ली पुर्‍याएर यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले टीकाराम भण्डारी र उनको श्रीमती टीकाकुमारी वलीलाई पक्राउ गरेको हो। उनीहरूलाई कञ्चनपुरको सीमा इलाकाबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जनाए।

प्रहरीको अनुसन्धानका क्रममा उनीहरूले युवतीहरूलाई भारतमा आकर्षक तलब सुविधाको प्रलोभन र अन्य विभिन्न बहाना बनाइ दिल्ली पुर्‍याउने गरेको, दिल्लीको किसनगढ अपार्टमेन्ट भाडामा लिई खाने बस्ने व्यवस्था मिलाइ वेबसाइटमार्फत विज्ञापन गरी अनलाइन वेश्यावृत्तिको र्‍याकेट चलाउने गरेको खुलेको छ।

त्यस्तै, उनीहरूले ह्वाट्स एप ग्रुपमार्फत ग्राहक बनाइ अनलाइन पेमेन्ट गरिसकेका ग्राहकले भनेका स्थानमा युवतीहरूलाई पठाउने गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।

ब्युरोका अनुसार युवतीहरूलाई दिइएका मोबाइलमाथि विभिन्न माध्यमबाट निगरानी गर्ने, वेश्यावृत्तिबाट कमाइ भएको रकममध्ये २० प्रतिशत युवतीहरूलाई दिने र बाँकी आफैँले राख्ने गरेका थिए।उनीहरूसहितका व्यक्तिविरुद्ध ६ वटा मुद्दा दर्ता भएकोमा यसअघि तीन जना पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। फरार रहेका उनीहरूलाई पुस ११ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले भारत पुर्‍याएका नौ जना पीडितलाई गत वर्ष चैत ७ गते उद्धार गरिएको थियो भने थप पाँच जना पीडितलाई पुस १० गते उद्धार गरी सुरक्षित आवासमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।