बालकुमारी घटना : सरकार र पीडित पक्षबीच मृतकलाई शहीद घोषणामा पहल गर्नेसहित चारबुँदे सहमति

ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएकाका व्यक्तिका परिवार र सरकारबीच मृतकलाई शहीद घोषणाका लागि पहल, पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नेसहित चारबुँदे सहमति भएको छ। 

काठमाडौँ– ललितपुरको बालकुमारी घटनामा मारिएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ। 

सहमतिमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतक परिवारको तर्फबाट मृतक शाहका बुवा टेकबहादुर शाह र राउतका तर्फबाट मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन्। अछाम र दैलेखका प्रतिनिधिसभा सदस्यहरूको रोहबरमा सहमति भएको हो। 

सरकार र पीडित पक्षबीच मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा एक/एक जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप क्षतिपूर्ति उपलब्ध गराउन सहजीकरण गर्ने सहमति भएको छ। 

त्यस्तै, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले शव बुझ्ने र शव सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था गृह मन्त्रालयले मिलाउने सहमति भएको हो। 

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले घटनाका सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ। त्यस्तै, मृतकका परिवारका सदस्यलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ। शुक्रबार ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको आन्दोलनका क्रममा अछामका शाह र दैलेखका राउतको ज्यान गएको थियो।