निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको जन्तेढुंगा गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सुरेशकुमार मेहताले बताए।
खोटाङ– जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ। पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो।
चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो। तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको जनाइएको छ।
करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिलर ठड्याउने काम मात्र हुँदै गरेको पाइएको छ। निर्माणाधीन अस्पताल भवनका लागि जग सम्म्याएर पिलर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।
निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस ११ गते ढलान भत्काउने मौखिक सहमति गरिए पनि कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले बताए।
“गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ। निर्माण कम्पनी र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो,” उनले भने, “आजको मितिसम्म भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो। त्यहाँ न त गाउँपालिकाको प्राविधिक कै उपस्थिति छ न त जनप्रतिनतिहरूको अनुगमन नै! कमसल सामान प्रयोग गरेर निर्माण भइरहेको संरचना भत्काएर सही र गुणस्तरीय समान प्रयोग गरी पुनः निर्माण गरियोस्। हामी जनेढुंगावासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ।”
निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सुरेशकुमार मेहताले बताए।
“गाउँपालिकाका तर्फबाट ल्याब टेस्ट (गुणस्तर परीक्षण) नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका छन्। गुणस्तरमा शंका लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेस्टमा पठाइएको थियो। ल्याब टेस्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ,” उनले भने, “शुरूमा स्याम्पल देखाउनुभयो। ल्याब टेस्टमा पास भए मात्र ल्याउनु भनेका थियौँ। तर ल्याएर झारेछ। हतार गएर बालुवा झार्न रोक लगायौँ। बीचमा अस्पताल भवनको डिजाइनकै कारण काठमाडौँ जानुपर्यो। त्यही बेला बालुवा मिसाएर चलाइदिएछ। यहीँबाट समस्या आएको हो।”
निर्माणाधीन अस्पताल भवनमा ठेकेदारले बारीबाट माटै उठाएर ल्याएको भन्ने स्थानीयबाट जानकारी आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले बताइन्। “ठेकेदारले माटो मिसिएको बालुवा ल्याएर थुपार्नु नै गल्ती भयो। तुरुन्त हटाउनु भनेका थियौँ। मेसिन नभएर लगिनौँ भन्ने गरेको थियो,” उनले भनिन्, “हामीले तुरुन्त हटाऊ भनेका थियौँ। प्रयोग त गरे होलान्। इन्जिनियरले पनि नगर्नूस् भनेको रहेछ। तर ल्याबमा हाल्नुपर्छ भनेर पठाइएको थियो। ल्याबमा फेल भएको भन्ने छ। गुणस्तरहीन सामग्री प्रयोग भएको रहेछ भने तत्काल भत्काएर पुनः निर्माण गर्न लगाउँछौँ।”
निर्माणाधीन अस्पतालमा खटिएका सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दीपेन्द्र गामीले भने अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गरे। ल्याब परीक्षण फेल भएपछि त्यो बालुवालाई नचलाई जगको सर्फेस मिलाउन मात्र प्रयोग गरेको इन्जिनियर गामीको भनाइ छ।
कुल २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन विसं २०७७ मंसिर १५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गरेका थिए। निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
