जापानमा शक्तिशाली भूकम्प, रुस र उत्तर कोरियामा पनि सुनामीको चेतावनी

जापानको मध्य भागमा सोमबार शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले नागरिकहरूलाई थप विपद्का लागि तयार रहन आग्रह गरेका छन्।

तस्वीर : एपी न्युज

जापानको मध्य भागमा सोमबार शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पका कारण सयौँ घरमा क्षति पुग्नुका साथै हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न भनिएको छ भने सरकारी अधिकारीले क्षतिको विवरण संकलन भइरहेको जनाएका छन्।

इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। भूकम्पका कारण जापानको पश्चिमी तट र छिमेकी दक्षिण कोरियामा करिब एक मिटर अग्लो समुद्री छाल आएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जापानको मौसम विज्ञान निकाय (जेएमए)ले इशिकावा, निगाता र तोयामा प्रान्तका लागि सुनामीको चेतावनी जारी गरेको छ। त्यस्तै, रुस र उत्तर कोरियाले पनि केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको समाचारमा जनाइएको छ। 

सरकारका प्रवक्ता योशिमासा हयाशीले केही घरहरूमा क्षति पुगेको, आगलागी भएको र उद्धारमा सघाउन सेनाका जवानहरूलाई पठाइएको जानकारी दिएका छन्। उनले क्षति विवरण संकलन जारी रहेको बताएका छन्।

जेएमएका कर्मचारी तोशिहिरो शियोयामाका अनुसार तीन वर्षदेखि भूकम्पीय गतिविधि भइरहेको उक्त क्षेत्रमा आगामी दिनमा अझै शक्तिशाली भूकम्प जान सक्ने छ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले नागरिकहरूलाई थप विपद्का लागि तयार रहन आग्रह गरेका छन्। “सुनामीको चेतावनी जारी गरिएको क्षेत्रका बासिन्दालाई जतिसक्दो चाँडो सुरक्षित स्थानमा जान आग्रह गर्दछु,” किशिदाले भने।

भूकम्प प्रभावित क्षेत्रमा ४० वटा रेल लाइन, दुई वटा द्रुत रेलसेवा अवरुद्ध भएको छन् भने ६ वटा एक्सप्रेसवे बन्द गरिएको छ। त्यस्तै, इशिकावाको एउटा विमानस्थलको धावनमार्गमा दरार देखिएपछि हवाईसेवा पनि रोकिएको यातायात अधिकारीले जनाएका छन्। जापानी वायुसेवा कम्पनीहरूले इशिकावाका विमानस्थलमा उडान रद्द गरेका छन्।

इशिकावा र तोयामा प्रान्तमा ३६ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको बताइएको छ। त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट र फोन सेवामा पनि समस्या देखिएको छ। 

जापानमा एकपछि अर्को गर्दै ६० भन्दा बढी भूकम्प गएको बीबीसीले समाचारमा जनाएको छ। भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रसारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जान आग्रह गरेका थिए। 

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू बनाइएको छ। यहाँ ठूलो झट्काको तयारीका लागि नियमित आपत्कालीन अभ्यासहरू पनि हुने गर्छन्। 

सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो। फुकुशिमा आणविक केन्द्रमा तीन वटा रियाक्टर पनि ध्वस्त भएका थिए। यसलाई जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना मानिन्छ।