गाजाबाट फिर्ता हुन थाले इजरायली सेना, युद्ध भने जारी

इजरायली एक अधिकारीले इस्लामवादी समूह हमासलाई परास्त नगरेसम्म युद्ध भने जारी रहने बताए। 

तस्वीर: रोयटर्स

इजरायलले गाजा क्षेत्रमा तैनाथ आफ्ना सेना फिर्ता बोलाउन थालेको छ। 

रिजर्भ फोर्सका रूपमा खटिएकालाई सेनालाई फिर्ता बोलाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

गाजामा हमास आतंककारीविरुद्ध थप लक्षित आक्रमणको तयारी र देशको अर्थतन्त्रलाई बलियो बनाउन इजरायलले यस्तो कदम चालेको सीएनएनले जनाएको छ। 

अनिवार्य शैन्य तालिम लिनु पर्ने व्यवस्था भएकाले अहिलेको युद्धमा नागरिकहरू रिजर्भ फोर्सका रूपमा खटिएका थिए । 

जसका कारण अन्य कामकाज ठप्प हुँदा अर्थतन्त्रमा पनि असर परेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैन्य फिर्ता अभियान चलाएका हुन्। 

इजरायली एक अधिकारीले इस्लामवादी समूह हमासलाई परास्त नगरेसम्म युद्ध भने जारी रहने बताए। उनले गाजाबाट फिर्ता गरिएका केही सेनालाई लेबनानसँगको सिमासहित अन्य सम्भावित मोर्चामा तैनाथ गरिने बताए ।