सन् २०२३: ९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना सार्क राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन्।

म्याग्दी– एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। 

एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२३ मा सन् २०२२ भन्दा २४ हजार ४२५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएको बताए। “प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो,” उनले भने, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ।”

सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा दुई हजार ३०० र २०२० मा दुई हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए। कोरोना महामारीअघि मुस्ताङमा वार्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए। 

सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना सार्क राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन्। १० हजार ७३३ पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका छन्। 

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि ५०० डलर शुल्क तिर्नुपर्छ। लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएको छ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ। 

म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन्। मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्। विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ।

मुस्ताङमा विदेशी पर्यटकको संख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको संख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए।