एउटै बगानबाट १० लाखको सुन्तला बिक्री

इलाममा यस वर्ष दुई हजार ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष गत वर्ष दुई हजार ७४४ मेट्रिक टन उत्पादन भएको थियो।

इलाम– इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। उनले यस वर्ष १० रुपैयाँको सुन्तला बिक्री गरेका छन्। 

उनले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेका हुन्। त्यसयता सुन्तला बेचेर यस वर्ष सबैभन्दा बढी आम्दानी गर्न सफल भएको उनले बताए। सुन्तला लगाएको पहिलो वर्ष तीन हजार रुपैयाँको सुन्तला बेचेका थिए। 

“गत वर्ष चार लाख रुपैयाँमा बेचेको थिएँ। बगानमा यस वर्ष उत्पादन राम्रो छ,” उनले भने, “धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन्।”

जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिदै गएकाले चापागाईँको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ। चापागाईं उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्छन्। साँझसम्म बनागनमा नै हुन्छन्। सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उनले बेग्लै प्रविधि निर्माण गरेका छन्। 

बगान हेर्दा सफाचट देखिन्छ। “बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ–टिपौँ लाग्ने सुन्तला स्याहार्दै दिन बिताउन खुब मज्जा लाग्छ,” उनले भने, “बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको छु। अझै उत्कृष्ट बगान बनाउन मन छ। त्यसमा लागिपरेको छु।”

कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए।  

इलाममा यस वर्ष दुई हजार ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए। गत वर्ष गत वर्ष दुई हजार ७४४ मेट्रिक टन उत्पादन भएको थियो। 

कार्यालयका अनुसार यो वर्ष इलाममा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ। अहिले २७८.५ हेक्टरमा सुन्तलाखेती भएको छ। गत वर्ष २८० हेक्टरमा गरिएको थियो। 

इलाम नगरपालिका–५ माइजोगमाईको नामसालिङ, रोङ–६ लगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुने गरेको उनले बताए। 

“पुरानो बोट, रोगकीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्,” उनले भने, “अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन्। किबीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ।” 

अहिले सुन्तला उत्पादनको मुख्य सिजन पनि हो। कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य प्रतिकिलो १२० देखि १५० रुपैयाँ छ। तर धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन्। वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन्।

यो वर्ष गत वर्षभन्दा निकै कम फल लागेको सूर्योदय नगरपालिका–३ का गणेश अर्यालले बताए। पाँच–छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेँलो हुने, भित्रभित्रै कीरा पर्ने र बोटै पहेँलो भएर सुक्ने भएपछि त्यसको उपचार गर्नै नसकिएको अर्यालको गुनासो छ।