घलेगाउँका होमस्टे पर्यटकले खचाखच

सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो। 

लमजुङ– क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका होमस्टे नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छन्।

प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए। “ विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँ वर्ष मनाउन आउने पर्यटक बढेका छन्। अहिले दैनिक ४०० हाराहारी पर्यटक आएका छन्,” उनले भने, “३०० जनाको क्षमता रहेको घलेगाउँ होमस्टे पर्यटकले भरिएर अन्य घर र होटलमा सारेका छौँ।”

स्थानीय हेमकुमारी गुरुङका अुनसार घलेगाउँका होमस्टे सञ्चालकलाई भ्याइ नभ्याइ छ। पर्यटक आउने अहिलेको याममा  प्रतिहोमस्टेले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका जानकारी दिए। 

२०५७ सालदेखि सञ्चालनमा भएको होमस्टे यहाँ बढेर अहिले ४२ होमस्टे पुगेको छ। पर्यटकको सत्कारसँगै होमस्टेमा आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन्। 

सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो। 

घलेगाउँँबाट आठ हजार १६३ मिटरको मनासलु हिमाल, सात हजार ८३५ को हर्क हिमाल, सात हजार ९३५ मिटर उचाइको अन्नपूर्ण (दोस्रो), अन्नपूर्ण (चौथो)लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ आउने पर्यटकलाई होमस्टे सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्किने गरेका छन्। 

आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिन्छ। स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला,  गुच्छा र खादा चढाइन्छ। 

परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा नै हो। घलेगाउँमा एक रातको प्रतिव्यक्ति एक हजार २५० रुपैयाँ शुल्क लिइन्छ।