बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

जेठो बुढोको बास्ना हराउनुमा रासायनिक मलको प्रभाव र उन्नत जातको धानको बीउ नै प्रमुख कारण हुन्। पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ।

पोखरा– “खेतका फाँटमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो। घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठो बुढोको बास्ना?” पोखरा–२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने, “एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो। पहिला गाईबस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो। तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल आए। अहिले खेती गर्दा कमिला मार्ने औषधि, पोटास के हो के हाल्नुपर्छ सबै विषाक्तको प्रयोगले माटो नै मरिसक्यो। अनि अर्ग्यानिक स्वाद कहाँ पाउनु।”  

कृषि सञ्जालका संयोजकसमेत रहेका गुरुङले जेठो बुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बीउ नै प्रमुख कारण भएको बताए। भने, “तत्कालीन समयमा किसानलाई रैथाने स्वाद र बास्नाभन्दा धेरै फल्ने धानको बीउ अनुदानमा दिइयो। रासायनिक मल प्रयोग गर्न प्रेरित गरियो। किसान उत्पादन बढेकामा खुशी माने तर यता बास्नादार रैथाने जातका धानको बीउ मासिँदै गयो।”

विषादीको प्रयोग बढ्दा धानमात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि उस्तै असर परेको उनको भनाइ छ। “किसानलाई सबैकुरा जानकारी नहुने भएकाले कृषि विज्ञले यसको महत्त्व बुझाएर रैथाने बाली प्रवर्द्धनका कार्यक्रम ल्याउनुपर्थ्यो। तर त्यो भएन,” गुरुङले भने,  “बुझाउनेले राम्रोसँग बुझाएनन्। उत्पादन बढ्छ भन्ने बहानामा उन्नत जातको धानको बीउ प्रयोग गर्न लगाउँदा र अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथाने बालीहरू लोप हुँदै गए।”

योसँगै पहिले गुर्दी गुरुडा, ठिमाहालगायत धान पनि विस्थापित हुँदै गएको उनले सुनाए। अहिले महानगर, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) जस्ता संस्थाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याइएको छ। 

जेठो बुढोको मागलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको लि–बर्डले यो धान संरक्षणमा अगुवाइ गरेको छ। संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेल भन्छन्, “पोखरा आउने पाहुनादेखि देश–विदेशमा समेत माग हुँदै आएको स्वादिलो जेठो बुढोको भातको बास्ना पहिलाजस्तो नभए पनि यो धानलाई लोप हुनबाट जोगाउन केही पहल भने भएका छन्।”

उनका अनुसार पोखरा आसपासका विभिन्न फाँटमा किसानले लगाएको जेठोबुढो धानमा एकरूपता थिएन। नेपाल कृषि अनुसन्धान परिषद् र लि–बर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले यसमा सातवटा फाँटका ३३८ वटा किसानबाट जेठोबुढो धानको नमुना संकलन गरेर लगातार परीक्षण गरेको थियो। परीक्षणपछि सन् २००६ मा सुधारिएको पोखरेली जेठोबुढो नामकरण गरियो। राष्ट्रिय स्तरबाट सूचीकृत नभए बिक्री वितरण गर्न नपाइने भएकाले सूचीकृतपश्चात् यसको प्रवर्द्धनमा अझ बढी चासो दिइएको उनको भनाइ छ। 

किसानको अनुभवमा बगिरहने चिसो पानीमा यसको गुणस्तर उच्च हुने भएको र पोखरा फेवा फाँटको जस्तो उत्पादन अन्तको फाँटमा नहुने उनको बुझाइ छ। पछिल्लो समय उन्नत जातले पेल्दै जाँदा र खेतीयोग्य जमिनमा चक्लाबन्दी हुन थालेपछि पनि यसको गुणस्तर ह्रास आएको उनी बताउँछन्। 

लि–वर्डले जेठोबुढो स्रोत बीउ जिम्मेवारी लिएको छ। कृषि ज्ञान केन्द्र र पोखरा महानगरपालिकाले सिफारिस गरेका किसानलाई बीउ उत्पादनका लागि दिँदै यसको संरक्षण र उत्पादनमा पहल गरिरहेको उनको भनाइ छ। उनका अनुसार गत वर्ष एक हजारदेखि १५ किलो बीउको बिक्री हुने गरेको थियो। उत्पादनका हिसाबले कम फले पनि प्रतिक्विन्टल नौदेखि १० हजारमा बिक्री वितरण हुने भएकाले किसानको चाहना अझै पनि जेठोबुढोमा छ। 

महानगरपालिकाले जेठोबुढो धानको प्रवर्द्धनका कार्यक्रम ल्याएकाले यसको बास्ना हराए पनि लोप हुनबाट जोगाउने पहल भइरहेको पौडेलले बताए। भने, “यस धानका बारेमा अनुसन्धान गरेर अझै कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान जारी नै रहेको छ।” पोखरा महानगरपालिकाले सुधारिएको पोखरेली जेठोबुढो पुरानो रैथाने जातको धानको २०६३ सालमा नेपाल सरकारले सूचीकृत गर्‍यो। शुरूआततिर जेठोबुढो मात्रै भनेर भनिए पनि अहिले यो जातको धानलाई पोखरेली जेठो बुढोको भनेर चिनिन्छ। 

जेठोबुढोमा एकरूपता नहुँदा छनौट गरेर छवटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्छन्। चिसो पानीमा कहीँकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको उनको भनाइ छ। उनले जेठो बुढोको महानगरपालिकाले ‘ब्रान्डिङ’ गरेर न्यूनतम समर्थन मूल्य तोकेपछि यसको महत्त्व झनै बढेको र अहिले पनि प्याकेजिङ र प्रशोधनमा सहयोग गर्न भनेर कार्यक्रम राखेको बताए। 

अहिले ११ हजार २०० हेक्टरमध्ये ४० प्रतिशत जमिनमा जेठोबुढो लगाउने गरिएको पाइन्छ। पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ। ६०० देखि ९०० मिटरसम्म उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्छ। पोखरा र आसपासका किसानले परापूर्वदेखि लगाउँदै आएको यो धानमा व्यापक अनुसन्धानको खाँचो रहेको कडरियाले बताए। 

पोखरा महानगरपालिकाले २०७६/७७ को नीति तथा कार्यक्रममार्फत पोखरेली जेठोबुढो धानको ब्रान्डिङ गर्ने घोषणा गरेको थियो। जेठोबुढो धान रोप्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने गरेको थियो। योसँगै जेठोबुढो धानको न्यूनतम मूल्य तोकेर महानगरले यो अभियानलाई व्यवहारमा उतारेको छ। अहिले  महानगरले एक क्विन्टल जेठोबुढो धानको मूल्य नौ हजार ५०० तोकेको छ।  

कडरियाका अनुसार पोखरेली ब्रान्ड जेठोबुढो उत्पादनमा किसानलाई आकर्षित गर्ने साथै यो जातको धानलाई जोगाइराख्ने हिसाबले धानको मूल्य निर्धारण गरिएको र व्यावसायिक हिसाबमै जेठोबुढो उत्पादन गर्न किसानलाई प्रोत्साहितसमेत गर्दै आएको बताए। पोखरा महानगरले २०७९/८० मा ५० प्रतिशत अनुदानमा नौ टन जति जेठो बुढोको धानको बीउ वितरण गरेको छ। जेठो बुढोको निकै विविधता भएकाले यसलाई कृषि अनुसन्धान विधिबाटै बास्ना आउने धानको बीउमात्र छुटाएर लगाउन सके यसको बास्ना कायम गर्न सकिने बताइएको छ। 

कृषि ज्ञान केन्द्र गण्डकी प्रदेशका प्रमुख किरण सिग्देलले पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको आएको बताए। भने, “बास्ना घटे पनि यसको उत्तिकै माग भएको र खाद्यान्न प्रवर्द्धन आयोजनाबाट आएका किसानलाई छनौट गरेर बीउ उत्पादनका लागि पनि पहल गर्दै आएका छौँ।” उनले जेठो बुढोको बारेमा औपचारिक रूपमै कृषि प्रणालीमार्फत अनुसन्धान हुन जरुरी रहेको बताए। 

आयातित रासायनिक मलको प्रभावले जेठो बुढोको बास्न हराएको हुनसक्ने विज्ञको भनाइ छ। ऋषि कृषि खोज पाठशालाका अध्यक्ष रामचन्द्र बराल पनि जेठोबुढो स्वाद निकै मीठो भएर काँचै खाँदा पनि स्वाद आउने गरेकामा अहिले त्यसको स्वाद हराउँदै गएको बताउँछन्। 

उनका अनुसार रासायनिक मलको प्रयोगले क्रमशः माटोमा अम्लीयपन ल्याई बालीको गुण बिगार्नाका साथै विभिन्न नयाँ नयाँ रोग देखिन थालेको हो। आयातित बीउलाई प्राथमिकता दिँदा रैथाने बीउ मासिँदै गएको र यसको असर जेठोबुढो धानमा पनि परेको उनको भनाइ छ।