कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ।
हुम्ला– संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा बिदेसिएका छन्। उनीहरू धेरैजसो भारत जाने गरेका छन्।
जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन्। अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन्।
शहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै यता दुर्गम गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन्। अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत शहरमा कामका लागि गाउँ छोड्ने गरेका छन्।
हुम्लाको अदानचुली गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन हुन थालेको नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले बताए। गाउँमा चरम आर्थिक मन्दी छाएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौँको संख्यामा अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिकाका युवा कालापहाड (भारत) जान थालेका भण्डारीले बताए।
यही पुस १० गते मंगलबार परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ। गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको संख्या निकै बढी देखिएको छ। कावाडी प्रहरी चौकीका एक सुरक्षाकर्मीले चेकजाँच गर्दा र सोधीखोजी गर्दा गाडी र पैदलमा गएका सबैले भारत जान लागेको बताएका जानकारी दिए।
अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा विरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए। उनका अनुसार एक सातादेखि नयाँ अत्यावश्यक कामबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल भएको स्थानीय बुढाले बताए।
गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानुपरेको बुढाको भनाइ छ। अहिले गाउँमा कोही बिते पनि लास उठाउने युवा पाउन मुस्किल भएको उनको गुनासो छ।
आफ्नो गाउँ घरबाट मात्रै यही पुस १३ गते २३ जना तथा विभिन्न टोल भएको अदानचुली– २ बाट झन्डै सयको संख्यामा भारत गएका उनको भनाइ छ। हिउँदमा घरको काम पनि हुँदैन। विकास निर्माणको काम गरेर केही रकमको जोहो गर्ने गरेको यहाँका युवाका लागि एक वर्षयता कुनै विकास निर्माणका कामहरू ठप्प भए पनि झन्डै दुई दशकपछि पहिलोपटक यति ठूलो संख्यामा युवा बिदेसिएका हुन्।
लामो समयदेखि छिमेकी मुलुक नगएको यहाँका युवा दिनहुँ सयौँको संख्यामा छिमेकी मुलुक भारत गएको अदानचुली–५ का रामबहादुर छत्यालले बताए। गाउँमा रोजगारीका काम नहुनु, गाउँपालिकाले भएका योजनाहरूको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा फ्रिज हुनुलगायत कारणले अदानुचलीका युवाले हिउँदको आफ्नो कामको गन्तव्यका रूपमा भारतलाई रोजेका हुन्।
घरमा बसौँ भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नपाएपछि धेरै लामो समयपछि अदानचुलीका युवाको रोजाइ कालापहाड बनेको हो।
गएका वर्षहरूमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढीमा पाँच/सात जना कालापहाड जाने गरेको भए पनि यो वर्ष जानेको संख्या निकै वृद्धि भएको अदानचुली–२ को मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले बताए।
केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी ‘रिजर्भ’ गरेर यहाँको युवाले दुई/तीन महिनाको गन्तव्यका रूपमा कालापहाड रोजेका हुन्।
आफूसहित २२ जनाको समूहले एक बलेरो जिप बाजुराको मार्तडीसम्म रिजर्भ गरेर गएको र पुस १३ गते मात्रै पाँच सयको संख्या युवा कालापहाड लागेका भारत जान लागेका एक युवाले जानकारी दिए।
कर्णाली कोरिडोरमा अस्थायी रूपमा चलेका जिपहरूमा प्रायः कालापहाड जाने अदानचुलीका युवा मात्रै भेटिने गरेका छन्। कुनै जिपले बेलुका अबेरसम्म पनि गाउँबाट युवा ओसारिरहेका हुन्छन्। आफूसँग गाडी भाडा नभएका दर्जनौँ युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि जाने गरेको बुढाले बताए।
अदानचुली–३ मकै गाउँका अंकल रोकायाले गाउँभर खोज्दा पनि गाडी भाडा नपाएपछि पैदलै आफूसहित केही युवा बाजुराको मार्तडी पुगेको बताए।
“मसँगै गाउँका नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको टोलीले जाने गाडी भाडा पनि नपाएपछि एक दिन एक रात हिँडेर बाजुरा सदरमुकाम मार्तडी पुगेका हौँ”, फोनमा उनले भने, “बाटोमा सबै गाडी चढेर हिँड्ने, हामी मात्र पैदल हिँडेको देख्दा आफैँलाई लाज होला भनेर हामी घरबाट हिँडेदेखि रातदिन नभनेरै पैदल कुदेका हौँ। एक रात एक दिनमा मार्तडी पुग्यौँ भने अब यहाँबाट नेपाल र भारतको सिमानामा पुग्न पनि त्यही दुई दिन एक रात लाग्छ कि जस्तो छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
