बुंगमतीबाट चार दशकअघि हराएका दुई मूर्ति अमेरिकामा भेटिएका छन्। अहिले मूर्ति फिर्ता ल्याउने प्रक्रिया शुरू गरिएको छ। ती मूर्ति पुजेका र अहिलेसम्म देख्दै नदेखेका दुवै पुस्ता मूर्तिको पर्खाइमा छन्।
‘टकटक, टकटक, टकटक...’
काठमा बुट्टा कुँदेको आवाज निरन्तर आइरहेको छ।
यो आवाज बुंगमतीको परिचय बनेको छ। यो लिच्छविकालीन बस्तीमा भेटिने मौलिक शैलीका घर, साँघुरा गल्ली र बाटाले पुरानो समय सम्झाइरहे झैँ लाग्छ। यहाँ अभिभावकसँगै बालबालिका पनि काठमा खिप्न सिकिरहेका भेटिन्छन्।
२०७२ सालको भूकम्पपछि भने बुंगमतीमा काठ खोपिरहेकाहरूको आवाज केही धिमा भएको छ। यही धिमा आवाजमाझ अघिल्लो हप्ताबाट नयाँ चर्चा शुरू भएको छ; करिब चार दशकअघि हराएका मूर्ति फिर्ता आउँदैछन्। यसरी फिर्ता हुन लागेका मूर्ति विष्णु र बुद्धका हुन्।
मूर्ति फिर्ता हुने भएपछि यहाँका जेष्ठ नागरिकहरू पुराना दिन सम्झन थालेका छन्। आफ्नै घरअगाडिको मूर्ति हराउँदा कोटा टोल बहिली घर भएकी पूर्णदेवी शाक्य (६०) आश्चर्यमा परेकी थिइन्। “नारान देय् नं यंकल,” त्यो दिन उनले भनेकी थिइन्। उनको भनाइको अर्थ थियो, ‘नारायण देवता पनि लगेछन्।’
पूर्णमायाको घरको पश्चिमतर्फ आँगनैअघि रहेको अशोक चिभा (चैत्य)मा श्रीधर विष्णु (नारायण)को मूर्ति थियो। २०४० सालतिर हराएको त्यो मूर्ति अमेरिकास्थित मेट्रोपोलिटन म्युजियममा भेटिएको छ।

कोटा टोल बहिलीको मात्र नभई बुंगमतीस्थित मच्छिन्द्र बहाल मन्दिर परिसरबाट हराएको बुद्धको मूर्ति पनि फिर्ता आउँदैछ। यो मूर्ति पनि करिब ४० वर्षअघि नै हराएको हो। बुद्ध मूर्ति फिर्ता आउने खबरले चिरीमाया शाक्य (६७) खुशी छिन्।
चिरीमायाकै घरअगाडि मछिन्द्र बहालबाट मूर्ति हराएको थियो। आफैँले बत्ती बाल्दै आएको बुद्धको मूर्ति एकाएक हराएपछि उनी दुखी थिइन्। त्यो मूर्तिको आकृति अझै उनले बिर्सिएकी छैनन्। मूर्ति फर्किने भएपछि त्यसलाई हेर्न उनी आतुर छिन्।
लैनसिंह वाङ्देलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख भएअनुसार उक्त बुद्धको मूर्ति १०औँ शताब्दीको हो।
यी मूर्ति फिर्ता आउने मिति भने निश्चित भइसकेको छैन। अहिले कागजातको प्रक्रिया तथा प्राविधिक पक्षमा काम भइरहेको स्थानीय तथा पुरातत्व अनुसन्धानकर्ता अनिल तुलाधर बताउँछन्।
स्थानीयबाट संरक्षित चिभा
बुंगमतीका पाइने प्रत्येक चिभाको रेखदेखका लागि एउटा परिवार तोकिएको हुन्छ। त्यही परिवारले चिभाको सरसफाइ र संरक्षण गर्नुपर्छ। वर्षको एक दिन कोजाग्रत पूर्णिमामा चिभालाई गुर्जू (पुरोहित) राखेर पूजा पनि गरिन्छ। चिभा आफैँ पनि कतिपय परिवारको चिनारी भएको स्थानीय हिरा शाक्य बताउँछन्।
हिराकै घरअगाडि छ मच्छिन्द्र बहाल। यो बहालको सरसफाइ र संरक्षणको जिम्मेवारी उनकै परिवारलाई छ। यो मूर्ति हराउँदा आफू ६–७ वर्ष उमेरको भएको उनी बताउँछन्। हिराकी आमा चिरीमाया भन्छिन्, “बिहानै आँगन बढार्दै चिभाअघि पुग्दा मूर्ति थिएन, चिभा भत्किएको थियो।”
चोरिएको उक्त बुद्धको मूर्तिको पहिचान ‘लस्ट आर्ट अफ नेपाल’ नामक फेसबुक पेजले एक वर्षअघि गरेको थियो। अमेरिकी निर्देशक माइकल फिलिप्सले आफ्नो सामाजिक सञ्जालमा राखेको तस्वीरबाट मूर्ति पहिचान भएको थियो। सोही समयबाट मूर्ति अमेरिकाबाट फिर्ता ल्याउन पहल भएको हो।

ललितपुर महानगरपालिका वडा नं. २२ का पूर्वअध्यक्ष अम्मरराज शाक्यका अनुसार बुंगमतीमा धेरै मूर्ति हराएका छन्। तीमध्ये दुई वटा मूर्ति फेला परेर फिर्ता हुने प्रक्रिया शुरू भएपछि अन्य मूर्ति पनि भेटिने स्थानीयको आशा छ।
शाक्य परिवारको जिम्मेवारीमा बुंगमतीस्थित मनकामना मन्दिर छ। त्यहाँबाट पनि मूर्ति हराएको छ। भैरवको धातुको मूर्ति २०५६ सालतिर चोरी भएको थियो। पूर्ववडाध्यक्ष शाक्यका अनुसार मूर्ति चोरी भएपछि उनीसहित केही स्थानीयलाई एक रात थुनामा समेत राखिएको थियो।
बुंगमतीबासी चिभालाई त्यहाँको विशेष सांस्कृतिक सम्पदा मान्छन्। प्रत्येक चिभाको आफ्नै उत्पति कथा छ।
हिरा शाक्यको घरअघिको चिभा बुंगमतीको सबैभन्दा ठूलो मानिन्छ। उक्त चिभाको नाम ‘तःग’ अर्थात् ठूलो भनेर राखिएको छ। एक किवंदन्तीअनुसार धेरैअघि बुंगमती परिसरमा पटकपटक पहिरो जान थाल्यो। पानेजुहरूले विभिन्न शास्त्र, तन्त्रमन्त्रले उक्त चिभामा बहुमूल्य रत्न राखेर प्राकृतिक विपत्तिलाई मथ्थर पारेका थिए।
यता, कोटा टोल बहिलीको अशोक चिभा बुंगमतीको सबैभन्दा पुरानो मानिने स्थानीय तथा पुरातत्व अनुसन्धानकर्ता अनिल तुलाधर बताउँछन्। उनका अनुसार यो लिच्छविकालीन चिभा हो। आफ्ना बाजुबाजेबाट सुन्दै आएको कथन अनुसार नजिकै रहेको गणेशको मन्दिर परिसरमा रहेको लिच्छविकालीन हिटीमा उक्त चिभा भेटिएको थियो।
स्थानीय अन्तमान शाक्य (६६) पनि यो चिभा लिच्छवीकालीन नै भएको बताउँछन्। “हिटीसँगै चिभा भएको हजुरबादेखि सुन्दै आएका हौँ, वरपर हिटीका भग्नावशेष पनि छन्।”

फेसबुक पेज लस्ट आर्ट अफ नेपालमा उल्लेख भएअनुसार बुंगमती क्षेत्र पर्ने तत्कालीन ग्राम विकास समितिको अनुमतिमा यहाँका युवाले कोटा टोलको बहिनीमा उत्खनन् गरेका थिए। त्यस क्रममा १५ फिट लम्बाइ र १५ फिट चौडाइ तथा १० फिट गहिराइमा ठूलो हिटी फेला परेको थियो। हिटीमाथि प्राचीन लिच्छविकालीन अशोक चिभा थियो। यससँगै, प्राचीन उमामहेश्वर, श्रीधर विष्णु, कुवेरलगायतका मूर्ति पनि भेटिएका थिए। हिटी संरक्षणबारे तत्कालै उचित निर्णय हुन सकेको थिएन। मूर्तिहरू भने मिलाएर बाहिरै राखिएको थियो। उक्त हिटीका अवशेष टोलको परिसरमा अझै देख्न सकिन्छ।
यो चिभामा भेटिएको श्रीधर विष्णुसँग जोडिएको अर्को किंवदन्ती छ। नेवार समुदायमा कसैलाई प्रसूति व्यथा लागे श्रीधर विष्णुलाई ‘किस्ली’ चढाउने गरिन्छ। स्थानीय पूर्णदेवी शाक्यका अनुसार योको मूर्ति चोरी भए पनि कसैलाई व्यथा लागेर गाह्रो भए अझै किस्ली चढाउने चलन छ। “मूर्ति हराए पनि आस्था हराएको छैन। अब त मूर्ति नै फिर्ता आउँदैछ, खुशी छौँ,” उनले भनिन्।
फिर्ता पछिका चासो र चिन्ता
बुंगमतीका अर्का स्थानीय सुजिन महर्जन (२४) यहीँको एक विहारमा ‘परम्परागत कला’ अध्ययनरत छन्। अध्ययनको क्रममा अशोक चिभा पुरानो भएको थाहा पाएको उनी बताउँछन्। चिभाबाट हराएको मूर्ति फिर्ता आउने थाहा पाउँदा आफूलाई खुशी लागेको उनको भनाइ छ। “मूर्ति ल्याएर फेरि यहाँ राख्दा सुरक्षित होला र?” उनी भन्छन्, “फेरि हराउने भए बरु संग्रहालयमा राम्रोसँग राखे हुन्छ।”
स्थानीयका अनुसार मच्छिन्द्र बहालमा पनि पहिले एउटा मूर्ति फिर्ता आएको थियो तर फेरि चोरी भयो। अब फिर्ता भएका मूर्ति पुनः चोरी हुन नदिन विशेष प्रविधिका साथ राखिने मूर्ति फिर्ता अभियानको नेतृत्व गरिरहेका अनिल तुलाधर बताउँछन्।

‘हेरिटेज रिकभरी क्याम्पेन’का सदस्य रोहित रञ्जिकारका अनुसार चोरी भएर ‘मिडिया ट्रायल’मा समेत परिसकेका मूर्ति पुनः चोरी हुने सम्भावना निकै कम हुन्छ। विभिन्न अभिलेख सार्वजनिक भएपछि र सञ्चारमाध्यममा समाचार आएपछि त्यस्ता मूर्ति किन्नेहरू सचेत हुने उनी बताउँछन्। “अन्तर्राष्ट्रिय नियमअनुसार पनि फिर्ता भएका मूर्ति आफ्नो ल्यान्ड अफ ओरिजनमै हुनुपर्छ। विदेशी संग्रहालयमा पनि ऋणको रूपमा रहन सक्छन्,” उनी भन्छन्, “यस्तोमा हामीले फिर्ता ल्याएका मूर्ति यसको उत्पतिस्थलमै जानुपर्छ।”
सडकछेउका चिभामा हुने भौतिक क्षतिबारे पनि स्थानीय चिन्तित छन्। फिर्ता भएका मूर्ति संरक्षणमा सरकारको पनि उचित व्यवस्थापन हुनुपर्ने रञ्जितकार बताउँछन्। चोरी भएका पुरातात्विक सम्पदा फिर्ता हुँदा उचित व्यवस्थापन हुन नसकेको उनको भनाइ छ। “फर्पिङबाट सरस्वतीको चोरी भएको टाउको फिर्ता आएको वषौँ भइसक्यो, त्यसलाई ठाउँमा राख्न स्थानीय तयार छन्। तर अहिलेसम्म फिर्ता भएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
