नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन: मन्त्रालय

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट 'जेएन–१' फैलिरहको भए पनि नेपालमा आनुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट ‘जेएन–१’ फैलिरहको भए पनि नेपालमा आनुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नयाँ भेरियन्ट फैलिनसक्ने भएकाले सजकता अपनाउन आग्रह गरे। उनले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट ‘जेएन–१’ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले सजक रहन आग्रह गरेका हुन्।

प्रवक्ता डा बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुन, भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन्।

मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को संक्रमणको नयाँ भेरियन्ट ‘जेएन–१’ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि संक्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको छ।

नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक 'स्क्रिनिङ' र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ।