मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

 प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन्।

गोरखा– प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन्। एक वर्षको अवधिमा यस वर्ष ९ हजार १६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको  मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए।

“यस वर्ष अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा आइपुगे,” उनले भने “पछिल्लो समय यस क्षेत्र पर्यटकको अत्यधिक रोजाइमा पर्न थालेको छ।” सन् २०२२ मा यस क्षेत्रमा ६ हजार १०२ विदेशी पर्यटकले भ्रमण गरेका थिए।

यसअघि सन् २०१९ मा ७ हजार ५५५ जनाले, सन् २०१८ मा ७ हजार ६५४ जनाले भ्रमण गरेकामा कोरोना संक्रमणका कारण सन् २०२० मा ३३७ र  सन् २०२१ मा ९२५ जनाले मात्र मनास्लु क्षेत्र भ्रमण गरेको कार्यालय प्रमुख शेरचनले जानकारी दिए। विश्वमाझ चर्चा कमाउँदै गएको यस क्षेत्रमा सन् २०२४ मा १२ हजार विदेशी पर्यटकले घुम्न आउने अनुमान गरिएको उनको भनाइ छ।

पदयात्रा गर्ने पर्यटकले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् भने नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र ताल अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्छन्।

त्यस्तै चुम भ्याली शृङ्गी हिमाल, भर्जिन हिमाल अवलोकनका साथै योगाभ्यासका लागि पनि विदेशी पर्यटक आउने गन्तव्य बन्दै गएको छ। यी दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउँछन्। मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ।

विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो।