केयूले आवासीय चिकित्सकको निलम्बन फिर्ता गर्न निर्देशन दिए पनि केएमसी अस्पतालले निर्देशनको अवज्ञा गर्दै अस्पतालमा प्रवेश दिएको छैन।
काठमाडौँ– “पाठ्यक्रम मै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो भनेर काम नगर्दा स्पष्टीकरण नै नसोधी अस्पतालले निलम्बन गर्न मिल्छ?,” अस्पताल प्रशासनले निलम्बन गरेपछि आक्रोश मुद्रामा देखिएका आवासीय चिकित्सक डा. विशद दाहालको प्रश्न हो यो।
सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी)मा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत डा. दाहाललाई अस्पतालले तोकेको काम नगरेको तथा नियम उल्लंघन गरेको भन्दै यही पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो। त्यस लगत्तै शुक्रबारदेखि केएमसीका आवासीय चिकित्सकहरू केएमसी अस्पताल अगाडि आन्दोलन गरिरहेका छन्।
चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकलाई शिविरमा पठाउने भन्ने बारे स्पष्ट नखुलेको तथा नेपाल मेडिकल काउन्सिल ऐनमा पनि स्नातकोत्तर अवधिभर अधिकतम तीन महिनासम्म मात्र फिल्डमा पठाउन मिल्ने व्यवस्था रहेको डा. दाहाल बताउँछन्।
चिकित्सा शिक्षा आयोगमा यो कुरा खुलेको छैन। नेपाल मेडिकल काउन्सिल ऐन तीन महिनासम्म अधिकतम गराउन पाइने, त्यो पनि सरकारी वा अर्धसरकारी अस्पतालमा गर्न पाउने कुरा स्पष्ट लेखेको छ,” उनी भन्छन्, “स्वास्थ्य शिविरमा आवासीय चिकित्सकलाई अग्रज चिकित्सक बिना नै पठाइन्छ, जुन पाठ्यक्रममै छैन। अस्पतालले हामीमाथि अन्याय गरेको छ, अनैतिक व्यवहार गरेको छ।”
गत पुष ८ मा आवासीय चिकित्सकहरूले चिकित्सक शिक्षा आयोगको शैक्षिक पाठ्यक्रममा नरहेको भन्दै क्याम्प तथा अतिरिक्त पोस्टिङमा सहभागी नहुने भनी अस्पताल प्रशासनमा पत्र बुझाएका थिए। तर अस्पतालले त्यसको भोलिपल्ट नै ६ स्थानमा शिविर राखेको थियो। ९ गतेको स्वास्थ्य शिविरमा सहभागी भएका दाहाल १२ गते गैरीगाउँमा रहेको सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविरमा भने सहभागी भएनन्।
माग सम्बोधन हुने आशमा रहेका उनी सम्बोधन नभएपछि शिविरमा नजाने अडान राखेका थिए। त्यही दिन बेलुका नियम उल्लंघन गरेको भन्दै अस्पताल प्रशासनले उनलाई निलम्बन गरेको थियो। मौखिक वा लिखित कुनै प्रकारको स्पष्टीकरण नै नसोधी नियमविपरीत निलम्बन गरिएको उनको भनाई छ।
विगतका वर्षदेखि नै आवासीय चिकित्सकहरूलाई अस्पतालले महिनामा १५ दिन विभिन्न स्थानको स्वास्थ्य शिविरमा पठाउने गरेको छ। जुन उनीहरूको पाठ्यक्रमभित्र समावेश छैन। अधिकांश समय अस्पताल बाहिर बिताउनुपर्दा शिक्षण सिकाइमा असर परेको उनीहरू बताउँछन्।
“हामीहरूलाई दिन रात हिँडाइन्थ्यो अनि स्वास्थ्य शिविरमा खटाइन्थ्यो। आराम नै हुँदैन। डाक्टर नै बिरामी भए कसरी उपचार गर्छ,” आन्दोलनरत अर्का आवासीय चिकित्सक डा. विजय केसी भन्छन्, “यसले गर्दा हाम्रो पढाइमा पनि असर पर्थ्यो। प्रशासनमा हामीले पटकपटक भन्यौँ, पत्र लेख्यौँ तर कुनै सुनुवाइ भएन। त्यसैले हामी आन्दोलन गर्न बाध्य भयौँ।”
काठमाडौँ विश्वविद्यालय (केयू) मातहत रहेको केएमसीका सबै आवासीय चिकित्सकहरू एक सातादेखि अस्पतालको काम छोडेर आन्दोलनमा छन्। उनीहरूले केयूसमेत चिकित्सा शिक्षा आयोगलाई पत्र लेखेका थिए। केयूले निलम्बन फिर्ता लिनु पर्ने निर्देशन दिएको छ। आयोगले भने केयूलाई नै यस विवादको समाधान गर्न भनेको छ।
केयूले निलम्बन फिर्ता लिन र चिकित्सकहरूलाई काम गर्न दिन निर्देशन दिए पनि अस्पतालले गुन्डागर्दी शैलीमा अटेरी गरिरहेको अर्का आन्दोलनरत चिकित्सक डा. विवेक अधिकारी बताउँछन्। उनी प्रश्न गर्छन्, “डा. विशदको फोटो प्रत्येक सेक्युरेटी गार्डलाई दिएर गेटभित्र छिर्न दिएको छैन। केयूको निर्देशनको यसरी अवज्ञा गर्न मिल्छ?”
आन्दोलनरत चिकित्सकका अनुसार दिनभर शिविरमा खटिएका चिकित्सकहरू रातारात यात्रा गरेर अन्य ठाउँ पुग्नैपर्ने, अस्पतालले बिहान सबेरै शिविरमा खटाउने गरेको थियो। यसरि खट्दा, आराम नपुग्दा धेरै चिकित्सकहरूलाई समस्या हुने गरेको उनीहरू बताउँछन्।
नियमित शिविरमा खट्नुपर्दा यही पुस ७ मा प्यूठानको गौमुखी र बुद्धभूमि नगरपालिकामा आयोजना गरिएको पाँचदिने स्वास्थ्य शिविर सकेर काठमाडौँ फर्कने क्रममा दाङ आइपुग्दा एक जना महिला आवासीय चिकित्सक गम्भीर बिरामी परेकी थिइन्। अत्यधिक रक्तस्राव तथा छारे रोगले ग्रस्त भएकी उनलाई विमानमार्फत काठमाडौँ ल्याइएको थियो। अहिले भने उनको अवस्था सामान्य छ।
केयूको निर्णयलाई बेवास्ता गर्दै केएमसी
केयूले चिकित्सक दाहालको निलम्बन फिर्ता गर्न अस्पताल प्रशासनलाई पत्र पठाइसकेको छ। हिजो मंगलबार केयूले अस्पताल प्रशासनलाई सम्बोधन गर्दै के कति कारण निलम्बन गरिएको हो भन्ने राय पेस गर्न तीन दिनको समय दिएको छ। तर अस्पतालले भने केयूको पत्रलाई अवज्ञा गर्दै निलम्बन फुकुवा नगर्ने अडान राखेको छ।
अस्पतालका महानिर्देशक नारायण दाहाल चिकित्सकहरूको यो आन्दोलन जायज नभएको बताउँछन्। उनी भन्छन्, “यो आन्दोलन नाजायज छ, पाठ्यक्रममा फिल्ड पोस्टिङ हुन्छ त्यहीअनुसार हामीले पठाउने गर्छाैं जहाँसम्म डा.विशदको कुरा छ, बिना कुनै कारण अस्पतालले निलम्बन गर्दैन, उहाँ आएको दुई वर्ष भइसक्यो तर हाँलसम्म २ वटा स्वास्थ्य शिविरमा मात्रै सहभागी हुनुहुन्छ। अस्पतालले भनेको नमान्ने, नियम मिच्ने, अनुशासनको पालना नगर्ने हो भने अस्पतालले कारबाही गर्छ।”
उनले केयूको निर्देशन एकतर्फी भएको भन्दै त्यसलाई मान्न तयार नभएको बताएका छन्। उनी भन्छन्, “काठमाडौँ युनिभर्सिटीले विद्यार्थीलाई मात्रै केन्द्रित गरेर, उनीहरूको मात्रै कुरा सुनेर पत्र पठाएको छ, हामी यो मान्दैनौँ।”
हेर्नुहोस् आन्दोलनको भिडियो:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
