विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध

राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको बताएका छन्।

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्यालेस्टिनी विद्रोही समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरेका छन्।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग बुधबार आफ्नै कार्यकक्षमा भएको भेटमा उनले जोशी निर्दोष भएको भन्दै रिहाइका निम्ति अनुरोध गरेका हुन्। राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ। त्यस अवसरमा नेपाल–इजरायल सम्बन्धका विविध पक्षका साथै कृषि क्षेत्रको विकासबारे पनि छलफल भएको थियो। 

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ। त्यस दिनपछि इजरायलले गाजापट्टीमा जारी राखेको सैन्य कारबाहीमा २२ हजार भन्दा धेरैको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।