गठबन्धनमा टुंगिएन राष्ट्रियसभाको सिट बाँडफाँट

राष्ट्रियसभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।

काठमाडाैँ– एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्धनका दलहरूबीच राष्ट्रियसभा निर्वाचनमा सदस्यको सिट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ। बालुवाटारमा बुधबार साँझ बसेका शीर्ष नेताहरूले सत्ता गठबन्धनका दलहरूले कति कति सिटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेनन्। 

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुंगिएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्णरूपमा टुंगो नलागेको बताए।

"२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प्रतिनिधिहरू रहेको ९ सिट खाली छ। यसमा हामी कसरी जान्छौँ भन्ने खालको सल्लाह भयो। सल्लाह टुंगिएको छैन," नेता पाण्डेले भने, "प्रधानमन्त्रीलाई एमाले अध्यक्षले हामीले जिरो नगर्नु भन्ने खालको प्रस्ताव आयो भनेर बुझौँ, त्यसपछि हामीले यस बारेमा बुझेर मात्रै टुंगो गरौँ भन्ने छ। एमालेको प्रस्ताव के हो हामीलाई जिरो नगर्नु भनेपछि के हो माग, त्यो स्पष्ट भएको छैन। उताबाट त्यो स्पष्टरूपमा आएपछि कुराकानी गर्न सजिलो हुन्छ।"

यस्तै, एमाले र कांग्रेसको आपसी सहमति भएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यो सहमति सशर्त रहेको बुझ्नुपर्ने बताए। बैठकमा भारतीय परराष्ट्रमन्त्री आउने, भारतसँग भएका विभिन्न सन्धिहरूमा उल्लेख भएका कुरामा कसरी जाने भन्ने बारे प्रधानमन्त्रीले 'ब्रिफिङ' गरेको पनि पाण्डेले जानकारी दिए।