इरानमा सुलेमानीको चिहान नजिकै विस्फोट: १०३ जनाको मृत्यु, कैयाैँ घाइते

'रिभोलुसनरी गार्ड'का पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा विस्फोट भएको हो।

इरानको सशस्त्र समूह 'रिभोलुसनरी गार्ड'का पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा बुधबार विस्फोट हुँदा १०३ जनाको मृत्यु भएको छ।

समारोहमा १० मिनेटको अन्तरालमा दुईवटा ‘शक्तिशाली विस्फोट’ भएको बीबीसीले जनाएको छ। केरमान रेड क्रिसेन्ट सोसाइटीका प्रबन्ध निर्देशकका अनुसार घटनास्थलबाट अहिलेसम्म ५० जना घाइतेलाई सारिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

केरमानका डेपुटी गभर्नरले यसलाई 'आतंकवादी हमला' भएको बताएका छन्। केरमानको गोलजार शाहदाई रोडमा रहेको साहिबुल जमान मस्जिद नजिकै विस्फोट भएको हो। इरानी समाचार एजेन्सी तस्निमका अनुसार बमहरू दुईवटा झोलामा राखेर टाढाबाटै विस्फोट गराइएको थियो।

कासिम सुलेमानी सन् २०१८ जनवरी १३ मा बगदादमा भएको अमेरिकी ड्रोन आक्रमणबाट मारिएका थिए। १७  जनवरीमा उनको अन्तिम संस्कार समारोहका दिन भिडभाडमा ५६ जनाको मृत्यु भएको थियो र अन्त्येष्टि स्थगित गरिएको थियो। 

इरानको शक्ति संरचनामा सुलेमानीलाई ज्यादै ठूलो कद भएका व्यक्तिको रूपमा लिइन्छ। इरानका सबैभन्दा शक्तिशाली नेता अयातोल्लाह अली खामेनीपछि जनरल कासिम सुलेमानीलाई दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ। 

सुलेमानी कुड्स फोर्स नामक सैन्य दलका प्रमुख थिए। एक हिसाबले यो दल विदेशमा रहेको इरानको सेनाजस्तै हो, जसले विभिन्न देशमा इरानी स्वार्थअनुसार कसैलाई समर्थन गर्छ र कसैलाई विरोध गर्छ। इरानमा नाममात्र परराष्ट्रमन्त्री हुन्छ, तर परराष्ट्रमन्त्रीको वास्तविक भूमिका कुड्स फोर्सको प्रमुखले खेल्ने गरेको पनि बताइन्छ।