फुर्सदको समयमा काम गरेर थोरै लगानीमा आयआर्जन गर्न सकिने भएकाले ढकियालगायत परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको छ।
भरतपुर– पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन। ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ। तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।
रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छिन्। उनले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहेकी छन्। उनीजस्तै ३० थारु महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन्। थारु आयोगको आर्थिक सहयोगमा तालिम दिइएको हो।
जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानेको बताइन्। उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिकेकी छन्। “पहिला केही पनि थाहा थिएन,” उनले भनिन्, “तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु।”
फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको उनीहरू बताउँछन्। “परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ,” उनले भनिन्, “हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ।” उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताइन्।
प्रशिक्षक मुना चौधरी महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुशी लागेको र २२ दिनमा एक जनाले चार पाँचवटा सामग्री फिनिसिङ गरेको बताइन्। तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाइएको छ।
“हामीले उत्पादन गरेको सामग्री यहीँ सौराहामा बिक्री हुन्छ,” उनले भनिन् “देश विदेशबाट आएका पर्यटकले लैजाने गर्नुभएको छ।” यी सामग्री निर्माणका लागि बरुवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिन्छ। सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ।
अर्का प्रशिक्षक श्री चौधरी थोरै लगानीमा फुर्सदको समयमा काम गरेर आयआर्जन गर्न सकिने भएकाले परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको बताउँछिन्। “पहिलो हाम्रो पुर्खाले ढकिया मात्र बुन्ने गर्नुहुन्थ्यो,” उनले भनिन्, “अहिले अन्य सामग्री पनि उत्पादन गर्न थालेपछि देश विदेशमा बिक्री हुने गरेको छ।”
थारु समुदायमा विवाह, मान्छे मर्दा र अन्य कर्ममा ढकियाको प्रयोग गरिन्छ। ढकिया थारु समुदायको पहिचान हो। पछिल्लो समय अन्य समुदायका मानिसले पनि यी सामग्री मन पराएर किन्ने गरेका छन्। तालिममा रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारु महिलाको सहभागिता छ। मंसिर २६ गते शुरू भएको तालिम पुस २७ गते सकिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
