वीरगन्जबाट पोखरा गइरहेको बस दुर्घटना: ३२ यात्रु घाइते

वीरगन्जबाट पोखरा गइरहेको बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना भएको हो। 

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान खोलामा खसेको थियो।  

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको तनहुँका डीएसपी मोहनबहादुर खाणले जानकारी दिए। १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ।

घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण–६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी–६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित अन्य यात्रु छन्।