गाजरखेतीको ‘हब’ बन्दै पश्चिम चितवन

प्रांगारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर–१५ का स्थानीयले गाजरखेती गरेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको पहिलो स्रोत नै गाजरखेती बनेको छ।

नारायणगढ– भरतपुर–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ।

रासायनिक मल र विषादीको प्रयोगबिना प्रांगारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्त रूपमा जग्गा भाडामा लिएर गाजरखेती गरेका हुन्। उनीहरूले १४ लाख रुपैयाँ लगानी गरेका हुन्।

२०३२ सालदेखि श्रीपुरमा गाजरलगायत प्रांगारिक खेती गर्दै आएका कृषक अधिकारीले तत्कालीन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती शुरू गरेको अनुभव सुनाए। “खास गरेर यहाँ २०३२ सालदेखि गाजरखेती शुरू गरेको हो,” उनले भने, “त्यसपछि क्रमिक रूपमा अरू साथी पनि गाजर खेतीमा अग्रसर हुनुभयो यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ।” उनको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ। यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतको रूपमा गाजरखेती पनि एक हो।

गाजर, मुला, चुकन्दर सलादमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्रांगारिक प्रक्रियाले हुनुपर्ने उनको भनाइ छ। “यो पूर्ण सलादको रुपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरीकन प्रांगारिक उत्पादन गरौँ भनेर हामी निरन्तर लागिरहेका छौँ,” उनले भने। 

जिल्ला प्रांगारिक संघ, प्रांगारिक कृषि उत्पादक सहकारीको पूरै समूह प्रांगारिक गाजरखेती गर्ने योजनामा छन्। यो सँगै संघअन्तर्गत १६/१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ। यहाँ उत्पादन भएको १०० टन गाजर र चुकन्दर अर्ग्यानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्ग्यानिक बजारमा बिक्री गरिने उनले बताए। 

विगत देखिनै सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीका अनुसार विभिन्न प्रांगारिक उत्पादन गरिँदै आएको र उत्पादन गरेर बजारीकरण गर्ने वस्तु अर्ग्यानिक सर्टिफिकेसन नेपाल (ओसीएन) प्रमाणित हुने जनाइएको छ। हाल सेरेसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले समेत बजारीकरणको लागि प्रमाणीकरणको काम गरिरहेको उनले बताए। उनले यहाँ उत्पादन भएका गाजरलगायत वस्तु अर्ग्यानिक भ्यालीसँग सहकार्य गरेर उत्पादनलाई प्रशोधन गरी विदेशी बजारमा पठाउने सम्झौता भएको बताए। 

प्रांगारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताए। “प्रांगारिक प्रक्रियाबाट गाजर लगाइएको छ खेतभरि गाजरको बिरुवालाई ढाक्ने गरी झार आएको छ। मानिसले गोड्दा खर्च बढ्ने भयो,” उनले भने। 

गाजरखेतीमा रोग र किराको समस्या नभएको किसान पौडेलले बताए। उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उनको भनाइ छ। 

गाजर गोड्दा लाग्ने खर्चको बारेमा मानिसले भन्दा यसको विकल्प खोजीयन्त्र उपकरण प्रयोगमा ल्याउन सकेमा खर्च कम हुने र हर्बिसाइट बिना उत्पादन गरिएका गाजरले राम्रो बजार पाउने उनको भनाइ छ। मंसिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उनले बताए।