संगठित गिरोहबाट ठगिँदै साउदीमा नेपाली, सावधानी अपनाउन दूतावासको आग्रह

पछिल्लो समय त्यहाँ ठगीका घटनाहरू बढेको र नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो आएको दूतावासले जनाएको छ। 

काठमाडौँ– साउदी अरबमा ठगी गर्ने संगठित गिरोह सक्रिय रहेको भन्दै सावधानी अपनाउन रियादस्थित नेपाली दूतावासले आग्रह गरेको छ। 

साउदी नेपालीहरूको प्रमुख श्रम गन्तव्य देश मानिन्छ। पछिल्लो समय त्यहाँ ठगीका घटनाहरू बढेको र नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो आएको दूतावासले जनाएको छ। 

त्यसरी सक्रिय गिरोहले साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारी हुँ भनी फोन गर्ने र व्यक्तिगत विवरण माग्ने गरेका छन्। फोन नम्बर राखेर सबै विवरण अद्यावधिक गर्नुपर्ने भन्दै बैंकको खाता नम्बर माग्ने र मोबाइलमा ओटीपी कोड पठाएर खातामा भएको सबै रकम लैजाने गरेको दूतावासले जनाएको छ। उनीहरूले विभिन्न कारण फोनमै कुरा गर्नुपरेको भन्दै विश्वासमा पार्न खोज्छन्।

"तपाईंको बासस्थानमा जनगणनाको सिलसिलामा आएकोमा भेट हुन नसकेको कारण बासस्थानको बाहिर अरेबिकमा सूचना राखिएकोमा तपाईंले त्यसको जवाफ नपठाएकोले साउदी कानून अनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुपर्छ भनी कुरा गर्छन्," दूतावासले जारी गरेको सूचनामा भनिएको छ, "त्यसपछि अकामा नम्बर माग्ने, एसएमएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएको जस्ता बनाइ  फोनमा ओटीपी पठाउने, सो ओटीपी माग्ने र एवं क्रमले फोन नम्बर राखी सबै विवरण अपडेट गर्नुपर्ने भनी आब्सर तथा बैंक खाता नम्बर वा बैंक कार्ड नम्बर तथा त्यससँगै ओटीपी समेत मागी विवरण अद्यावधिक गर्ने नाममा बैंकमा भएको रकम लैजाने गरेको पाइन्छ।"

दूतावासका अनुसार ती गिरोहले बैंक खाता नम्बर एवं आब्सर हात पारी अनेक खालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने गरेका छन्। यस सम्बन्धमा साउदीको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको तथा बेला बेलामा एसएमएसमार्फत सूचना जारी गरी सचेत गराइरहेको छ।

कुनै अनधिकृत व्यक्तिले फोनबाट वा अरु कुनै माध्यमबाट अकामा, आस्बर वा बैंक खाता कार्ड नम्बर वा ओटीपी मागेमा कुनै पनि हालतमा नदिन दूतावासले आग्रह गरेको छ। यस्तै आफूसँग यस्ता घटना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि नेपाली दूतावासले भनेको छ।