पेट्रोल पम्पको अवस्था अध्ययन गर्न काठमाडौँ महानगरले बनायो समिति

काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूको अवस्था अध्ययन गर्न सात सदस्यीय समिति बनाएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूको अवस्था अध्ययन गर्न नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको छ।

काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी महाशाखा, आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसनलगायतका निकाय तथा सस्थाका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले काठमाडौँ महानगरभित्र सञ्चालित पेट्रोल पम्पको अवस्था अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो।

महानगरले बनाएको अध्ययन समितिमा आयल निगम, उपत्यका ट्राफिक प्रहरी महाशाखा, सडक विभाग/सडक डिभिजन कार्यालय, पेट्रोलियम डिलर्स एसोसिएसन लगायतका निकाय तथा संस्थाका प्रतिनिधि सदस्य रहने छन्।

अध्ययन समितिलाई काठमाडौँ महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरूको स्थलगत निरीक्षण गरी ती पम्पहरूमा तत्काल सुधार गर्नुपर्ने र निश्चित समयमा सुधार गर्नुपर्ने कार्यका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गर्न भनिएको छ। समितिलाई अध्ययन प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको छ।

बैठकले काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका सबै पेट्रोल पम्पहरूमा ४५ दिनभित्र नेपाल आयल निगम, पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ बमोजिम शौचालय निर्माण गरी गर्न निर्णय पनि गरेको छ।