बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा निगमका क्याप्टेनविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राट्बहादुर शाहविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राट्बहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबिन गर्दा उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेसन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए।