तराईमा हुस्सु, कोशी र गण्डकीको पहाडी भूभागमा हिमपातको सम्भावना

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

देशका बाँकी  स्थानको भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

देशभरको तापक्रम घटेकाले चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।