चितवनमा फेरि ध्रुवे हात्तीको आतंक, एकैदिन ४ घर भत्कायो

बुधबार साँझ माडी क्षेत्रमा देखिएको ध्रुवे हात्ती बिहीबार वयरघारी गाउँ पुगेको थियो। सोही दिन उक्त गाउँका चार घर भत्काएको छ।

फाइल तस्वीर

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ।

सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। 

बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार वयरघारी क्षेत्रमा पुगेको थियो। “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो। हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’बाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने छाडेको छैन,” उनले भने। 

हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत स्थानीयलाई जानकारी गराइएको छ। निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनको भनाइ छ।