त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। यस पटक खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न लागिएको हो।

सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभर रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो।

शुक्रबार प्रकाशित सूचनामा, उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम  गरेको हुनुपर्ने उल्लेख छ। 

यसैगरी, आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चार वर्षे व्यावसायिक कार्ययोजना समेत प्रस्तुत गर्नुपर्ने छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए। 

त्यहीअनुसार शिक्षामन्त्रीको संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भएको छ।

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ।