हिउँदमा पनि छाडियो नारायणी लिफ्टको पानी, २ हजार हेक्टरमा सिँचाइ पुग्ने

नारायणी लिफ्टको पानी ‘बी’ क्यानलबाट एक दशकपछि हिउँदमा पनि छाडिएको छ। जसबाट लङ्कु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ।

भरतपुर– चितवनको नारायणी लिफ्टको पानी हिउँदमा पनि पानी छाड्न थालिएको छ। एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो। 

लिफ्टका चार वटा पम्प फेरेपछि हिउँदमा पनि पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणालीका इन्जिनियर कुलप्रसाद चालिसेले जानकारी दिए। दुई हजार लिटर प्रतिसेकेन्ड पानी तान्ने सानो पम्प सञ्चालन गरिएको उनको भनाइ छ। नयाँ पम्प फेरेपछि हिउँदमा पनि पानी पठाउन सकिन्छ भनेर परीक्षणका रूपमा पानी नहरमा पानी पठाउन थालिएको हो। नारायणी लिफ्ट सिँचाइमा चार नयाँ मेसिन छन्। चार घन मिटरका दुई र दुई घन मिटरका दुई छन्। 

भरतपुर–१ स्थित नारायणी नदी नजिकै रहेको सिँचाइ प्रणालीको पम्प हाउसमा रहेका ४० वर्ष पुराना चार पम्प फेरिएको हो। पुराना र जीर्ण अवस्थाका पम्पले पानी तान्न समस्या भएपछि २६ करोड ३२ लाख ४३ हजार रुपैयाँ खर्च गरिएको छ। किसानको मागअनुसार, गहुँ बालीलाई लक्षित गर्दै नारायणी लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको उनले बताए। 

‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट, यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्छ। यसले करिब दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने इन्जिनियर चालिसेको भनाइ छ। बर्खामा साउन दुईदेखि चार महिना सिँचाइका लागि नारायणी लिफ्टबाट पानी छाडिएको थियो।

२०६९ सालपछि हिउँदमा यस वर्ष पहिलोपटक नारायणी लिफ्टको पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले बताए। “मेसिनले नधानेपछि नियमित गर्न छाड्यौँ,” उनले भने, “नयाँ मेसिन जडान गरेपछि यो पटक गहुँ बालीका लागि भनेर नहर छाडेका छौँ।” 

नारायणी लिफ्टको मुहान पोखरा बसपार्क नजिक छ। त्यहाँ नदीको सतह कम हुँदा पानी तान्न मेसिनलाई समस्या हुने गरेको उनले बताए। नारायणी लिफ्ट आयोजनाको काम २०३५ सालमा शुरू भएर २०४० सालबाट चालु रहेको हो। 

२०४९ सालमा मेसिन बिग्रिएर रोकिएको थियो। त्यसपछि निरन्तर सञ्चालनमा आएको अध्यक्ष रानाभाटले जानकारी दिए। नदीमा पानीको सतह भएसम्म हिउँदमा पनि पानी छाड्ने योजना छ।