अमेरिकामा १७ वर्षीय बालकले गोली चलाउँदा १ जनाको मृत्यु, ५ घाइते

गोलीकाण्डका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीले आशंका गरेका छन्।

अमेरिकाको आयोवास्थित विद्यालयमा १७ वर्षीय बालकले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्। 

प्रहरीका अनुसार, गोलीकाण्डका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीले आशंका गरेका छन्।

पब्लिक सेफ्टी डिभिजन अफिसर मिच मोर्टवेटले बिहीबार भएको गोलीकाण्डमा ‘पेरी स्कूल’का प्रिन्सिपललाई पनि गोली लागेको बताएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था स्थिर छ।

अमेरिका नागरिकको हतियार राख्ने सन्दर्भमा विश्वको अग्रणी स्थानमा रहेको देश हो। स्विट्जरल्यान्डस्थित स्मल आर्म्स सर्भेका अनुसार अमेरिकाका ३९ करोड ३० लाख नागरिकसँग बन्दुक छ। 

अमेरिकाले विश्वको जनसंख्याको ५ प्रतिशत ओगटेको छ। तर, अमेरिकामा मात्रै विश्वको कुल नागरिक बन्दुकको ४६ प्रतिशत छ।