बगर सम्म्याएर खेलमैदान

म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्म्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको छ।

म्याग्दी– मंगला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ।

म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्म्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो।

वडा नम्बर ५ का अध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेको जानकारी दिए। “चार वर्षअघि डोजरले जमिन सम्म्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो,” उनले भने, “पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो।” उनका अनुसार उक्त खेल मैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड सञ्चालन गरिएको छ।

खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुंगा टिपेर व्यवस्थापन गर्ने, सम्म्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुंगा ढुवानी गर्न एक हजार ५०० ले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए। उनका अनुसार खेल्ने क्रममा चोटपटक नलागोस् भनेर ससाना ढुंगा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरिएको छ। 

बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमा समूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए। बाबियाचौरको मंगला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन श्रमदान गरेका थिए।

जमिन सम्म्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाइएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले बताए। “झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ। खेल मैदानले स्वरूप लिएको छ,” उनले भने। 

गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत १५ लाख बजेटबाट २०७६ सालमा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो। कटानबाट बचाउन म्याग्दी नदीको किनारमा १२० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो। 

गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुंगे पुल निर्माण भएको छ। व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो। 

गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए। कैलाश फाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ छ।