जनप्रतिनिधि आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्।
ढोरपाटन– अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती। चारैतिर भिर, पहरा। एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने। वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिकाले पछिल्लो समय विकासमा फड्को मार्न थालेको छ।
आधादशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनैभरि लगाउनुपर्नेमा अहिले तमानखोलावासी एक गाउँबाट अर्को गाउँ पुग्न आधा घण्टा हिँडे पुगिन्छ। छोटो समयमै स्वास्थ्य क्षेत्रमा फड्को मारेको तमानखोला जिल्लामै नमूना पालिकाका रूपमा स्थापित बन्दै गएको छ।
दुर्गम हुँदाहुँदै पनि तमानखोलामा मातृशिशु मृत्युदर शून्य छ। गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना हुनु, स्वास्थ्य सचेतनाका साथै शिक्षाको पहुँचलगायत कारणले यसअघि धामीझाँक्रीमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्न थालेका छन्। यसले गर्दा मातृशिशु मृत्युदर शून्यमा झरेको हो।
नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी ब्यथा लाग्नु अगाडि नै बर्थिङ सेन्टर पुग्नाले पालिकामा मातृशिशु मृत्युदर शून्यमा झरेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए। हरेक बस्तीका महिलालाई नियमित गर्भ जाँच गराउने तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना विकास हुँदै गएकाले मातृशिशु मृत्युदर शून्यमा झरेको उनको भनाइ थियो।
स्थानीय तह आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्। तीन स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका हजारौँ तमानखोलावासीलाई अहिले ठाउँठाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले उपचारमा सहजता पुर्याउनुका साथै स्वास्थ्य सम्बन्धी सचेत पनि गराइरहेको छ।
“स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने महिला अहिले वर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माउने गरेका छन्। यसले गर्दा आमा र बच्चा सुरक्षित हुने गरेका हुन्,” स्वास्थ्य शाखा संयोजक छन्त्यालले भने। उनका अनुसार गाउँपालिका–१ को बोंगादोभान, ३ को तमान, ५ को खुङ्खानी र ६ को आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालन गरिरहेको छ।
छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिला गर्भ जाँच तथा नियमित स्वास्थ्य परीक्षणमा सचेत भएकाले मातृशिशु मृत्युदर शून्य भएको बताए। “पहिले जनचेतनाको कमी, स्वास्थ्य संस्था टाढा हुनुलगायत कारणले धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको थियो,” उनले भने, “अहिले स्वास्थ्य संस्थाको दायरा बढाएर समुदायसम्म स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका पुगेर जनचेतनामूलक कार्यक्रम गर्न थालेपछि समस्या अन्त्य हुँदै गएको छ।”
ग्रामीण भेगमा नागरिकमा समेत बिरामी भएपछि अस्पताल जानुपर्छ भन्ने चेतना विकास भएको उनको भनाइ छ। “गर्भवती महिलाले नियमित गर्भ जाँच गर्ने, केही समस्या भए स्वास्थ्यकर्मीलाई फोनमार्फत जानकारी लिने गर्नुहुन्छ। स्वास्थ्य स्वयंसेविकासहितको टोलीले समयमा समुदायमा पुगेर सचेत गराउने काम गरेका छौँ,” उनले भने।
घर नजिकै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँका धेरै महिला नियमित जाँचका लागि आउने गरेको स्थानीय मनकुमारी रसाइलीले बताइन्। भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म महिलालाई सुत्केरी व्यथाले च्याप्यो भने डोकामा बोकेर अस्पताल पुर्याउने गरेकामा अहिले त्यो स्थिति छैन।
डोकामा बोकेर लैजाँदा कोहीले अस्पतालमा पुगेर बच्चा जन्माउने, कोही बाटोमै सुत्केरी हुने अवस्था थियो। “गाउँमा अहिलेको जस्तो बाटो नभएकाले गाडी चल्दैनथे। अहिले मोटर गाडीका साथै अस्पताल पनि गाउँमै आएका छन्,” रसाइलीले भनिन्।
छ वटा वडा रहेको तमानखोलामा चार स्थानमा वर्थिङ सेन्टर सञ्चालित छन्। बर्थिङ सेन्टर छवटै वडाका नागरिकका लागि पायक पर्ने स्थानमा छन्। तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्यचौकीसँगै स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको बताए।
गाउँपालिका–६ को नर्जाखानी, ४ को लाम्मेला र २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा १ को सम्मर, २ को सिल्गुम र ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन भइरहेको छ।
“शुरूदेखि नै स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको जीवनरक्षा गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौँ,” अध्यक्ष बुढामगरले भने, “स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्नति र प्रभावकारी सेवा प्रवाहसँगै गत वर्षदेखि एम्बुलेन्स सेवा पनि शुरू गरेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
