टुटलका संस्थापक भट्ट पक्राउ

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ– राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरीपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। उनलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको हो।

“राइड सेयरिङ भनेर टुटल भन्ने एप चलाउने भनेर केही साथीहरू मिलेर शुरू गर्न खोजेको देखिन्छ। पछि कुरा नमिलेको र शिक्षितले साझेदारहरूसँग सहमति नगरेर टुटलको एप चलाएर कारोबार गरेछन्,” उनले भने, “साझेदार भनिएका साथीहरूले सहमति विपरीत एप चलाएको भनेर प्रतिलिपि अधिकार अन्तर्गत र आपराधिक विश्वासघात अनुसार उजुरी दिएपछि पक्राउ गरिएको हो।”

कुनै पनि कम्पनी सञ्चालन गर्ने सहमति भएर पछि अन्य साझेदारलाई थाहा नदिइ सञ्चालन भएपछि त्यस अन्तर्गत प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात भयो भन्दै उजुरी परेको परिसरले जनाएको छ।

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यो विवाद टुटलसँग सम्बन्धित रहेको देखिन्छ। रजिस्ट्रारको कार्यालय हुँदै प्रहरीसम्म विवाद पुगेपछि प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। टुटल नेपालमा नाकाबन्दीपछि सञ्चालनमा आएको थियो।