होटलको काममा भनी झुक्याएर रुसी सेनामा पठाउने २ जना पक्राउ

पीडितले रुसबाट फर्केर दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

काठमाडौँ– होटलको काममा भनी झुक्याएर रुसी सेनामा पठाउने दुई जना पक्राउ परेका छन्। अलस्का ट्राभल्स सञ्चालक गोरखाका अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राई भन्ने शेरबहादुर राई पक्राउ परेका हुन्।

पीडितले रुसबाट फर्केर दिएको उजुरीका आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले रुसका होटलमा आकर्षक तलब हुन्छ र त्यहाँ जान प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै शंकर कार्की लगायत तीन जनालाई रुस पठाएका थिए। त्यहाँ पुगेपछि शंकर लगायतले आफूहरूलाई लिन आउने व्यक्ति (एजेन्ट)लाई शर्तअनुसार प्रतिव्यक्ति ८०० डलर थप बुझाएका थिए।

रकम हात पर्नेबित्तिकै एजेन्टले त्यहाँ होटलको काममा नभइ सेनामा भर्ती हुनुपर्ने र त्यसको लागि शुरूमा तालिम गर्नुपर्ने बताए। शंकरले आफू सेनामा भर्ती हुन नआएको भन्दै नेपाल फर्केर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार नक्कली शैक्षिक कागजात बनाएर शंकर लगायतलाई रुस पठाइएको थियो।

शंकरसँगै गएका राजन राई र विकास राईलाई रुसी सेनामा भर्ना गरिएको बुझिन आएको उपरीक्षक रेग्मीले बताए। मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा अभियुक्तलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

यसअघि रुसी सेनामा नेपाली नागरिक पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। नेपालबाट रुसी सेनामा पठाउने गिरोह ठूलो भएको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका ७ जना नेपालीको मृत्यु भइसकेको छ भने ४ जना युक्रेनी सेनाको कब्जामा रहेको बताइएको छ।

अहिले सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन पनि रोक लगाएको छ। नेपाली नागरिकहरू यी देशमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हिजो बिहीबारदेखि अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।