विश्वकप हेर्न पाउँदा आप्रवासी मजदुर खुशी

आइतबार सम्पन्न विश्वकपको पहिलो खेलका रूपमा इक्वेडर र कतारबीचको खेल हेर्दै रमाएका हजारौँ कामदारका दृश्य सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन्।

मैदानमै उपस्थित भएर विश्वकप हेर्न पाउँदा कतारका आप्रवासी कामदारहरूमा खुशीयाली छाएको छ। 

विश्वकप खेल्ने रंगशालासहित विभिन्न संरचना निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका विदेशी कामदारले प्रत्यक्षरूपमा विश्वकप हेर्न पाएपछि खुशीयाली छाएको हो। तर कतार सरकारले यसअघि विश्वकपका बेला सबै कामदारलाई केही समयका लागि आआफ्नो घर फर्कनुपर्ने बताएको थियो। तर चौतर्फी विवादपछि कतार सरकार सो निर्णयबाट पछि हटेको थियो। 

अहिले भने तिनै कामदारलाई टिकट कोटा छुट्याएको छ। त्यसैले उनीहरूले विश्वकप हेर्न पाएका हुन्।

आइतबार सम्पन्न विश्वकपको पहिलो खेलका रूपमा इक्वेडर र कतारबीचको खेल हेर्दै रमाएका हजारौँ कामदारका दृश्य सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन्। फिफा विश्वकपको ऐतिहासिक खेल हेर्न दोहामा हजारौँ कामदारको उपस्थिति थियो।

दक्षिणी एसियाली मुलुकहरू नेपाल, भारत, पाकिस्तानसहित केही अफ्रिकी कामदारले कतारमा विश्वकप आयोजनाका लागि आवश्यक रंगशालासहित अधिकांश संरचना निर्माण गरेका थिए। अहिले भने ती कामदार विश्वकप हेर्न पाउँदा हर्षित छन्। आइतबार साँझको खेल हेर्न गएका उनीहरूले ऐतिहासिक विश्वकप पाउनुलाई उपलब्धि ठानेको अल जजिरालाई बताएका छन्। 

कतिपय कामदार कामबाट सिधै खेल हेर्न पुगेका थिए भने अधिकांशले खेलबाट बिदा लिएका थिए। विश्वकप हेर्न आफूहरूलाई टिकट कोटा छुट्टाइएको भन्दै खुशी साट्दै उनीहरूले विश्वकपका संरचनाहरू बनाउँदा बगाएको पसिना र श्रमको कदर भएको महसुस गरेको बताएका छन्।

बंगलादेशबाट कतारमा कामदारका रूपमा कार्यरत ४५ वर्षीय मुहम्मद हुसैनले कुनै मुस्लिम देशमा पहिलो पटक आयोजना भएको विश्वकपमा प्रत्यक्ष सहभागी हुन पाउनु ठूलो कुरा भएको बताए। साथै, कतारको मेट्रो स्टेसन निर्माण र अन्य संरचना बनाउँदा आफूले गरेको कामकोसमेत स्मरण गरे। उनले भने, “कतारको यति महत्त्वपूर्ण कुरामा सहभागी हुन पाउँदा भनेर कहिल्यै सोचेको पनि थिइन।”

केबल २८ लाख जनसंख्या भएको कतार विश्वकप आयोजना गर्ने पहिलो मध्यपूर्वी र पहिलो मुस्लिम देश हो। कुनै पनि देशले आफूलाई विश्वकप आयोजनाका लागि तयारी गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो। विशेष गरी विदेशी कामदारहरूको सहयोग गर्नु थप चुनौतीपूर्ण पनि हो।

“विश्वकप आयोजना गर्नुपूर्व कतारमा मेट्रो र यहाँका सडकमा बस सेवा उपलब्ध थिएन। विश्वकपको योजना नभएको भए पानीमाथि बनेका यी सबै संरचना, राजमार्ग र सडक यहाँ हुने थिएनन्। म खुशी छु। मैले यति महत्त्वपूर्ण भूमिका खेल्ने अवसर पाएँ”, भारतीय कामदार पिटरले भने। ४८ वर्षीय उनले कतारमा कामदारका रूपमा १५ वर्ष बिताएको बताए।

कतारमा विश्वकप आयोजना गर्दा संरचना निर्माणका क्रममा जोखिमपूर्ण काम हजारौँ कामदारको मृत्यु भएको थियो। विश्वकपका लागि संरचना निर्माणका क्रममा मात्रै विभिन्न देशका ६५ सय कामदारले ज्यान गुमाएको बताइएको छ। 

कतारमा कामदारका रूपमा गएका नेपालीहरूमध्ये सन् २०१० यतामा मात्रै २१ सय जनाले ज्यान गुमाइसकेका छन्। केबल २८ लाख जनसंख्या रहेको कतारमा २१ लाख विदेशी कामदार रहेका छन्। जसमा ४ लाखभन्दा बढी नेपाली कामदार छन्।

-एजेन्सीको सहयोगमा