सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले लगायो कर्फ्यु

सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।

काठमाडौँ– सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा नगरक्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर खुल्ला हिँडडुल गर्न एवं अरू कुनै पनि प्रकारका उच्छृङ्खल गतिविधि नगर्न नपाउने गरी कर्फ्युको आदेश जारी गरेका हुन्।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी होमप्रसाद घिमिरेले बरहथवा नगरक्षेत्रभित्र कर्फ्युको आदेश जारी भएको जानकारी दिए।

प्रशासनले पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर, उत्तरमा सोती/चोर्निया पुललाई सीमा तोकेर कर्फ्यु लगाएको हो। प्रशासनले आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाहीसमेत गर्ने सक्ने जनाएको छ।

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयमा विवाद भएको थियो। विवादले उग्र रूप लिँदा प्रदर्शनकारीहरूले नगरप्रमुख कल्पना कटुवालको घरमा तोडफोड गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो।

नगर अस्पतालको विषयलाई लिएर विगत महिनादेखि विवाद चल्दै आएको थियो। सो विषय सुल्झाउन शुक्रबारका लागि सर्वदलीय बैठक डाकिएको थियो, तर बजार बन्दको आह्वान भएपछि नगरप्रमुख कटुवालले बैठक स्थगित गरेकी थिइन्।

त्यसपछि आक्रोशित बनेका स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्नुका साथै एउटा गाडीमा आगजनी गरेका थिए। सो क्रममा २ जना स्थानीय र ६ जना प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।