छिमेकी घट्दै, बिरानो बन्दै गाउँ

रोजगारी, सेवासुविधा तथा शिक्षाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँ सर्नेको संख्या बढेको बढै छ। ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन्।

म्याग्दी– झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन्। चराहरूको चिरबिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ। आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका–३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिँदैन।

विगत एक दशकयता म्याग्दीमा बसाइँसराइका क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तरार्द्धमा पुगेका ज्येष्ठ नागरिकका छिमेकी घट्दै गएका छन्। म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधा तथा शिक्षाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँ सर्नेको संख्या बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन्।

जिल्लाका ग्रामीण क्षेत्रसम्म विकास र पूर्वाधारको पहुँच पुगे पनि शिक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले शहरबजारमा झर्नेको संख्या नरोकिएपछि ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन भने जनसंख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ।

विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ मात्र बस्ने गरेको देखिन्छ। ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लाका ६ वटै स्थानीय तहमा विसं २०६८ को जनगणनाअनुसार जनसंख्या कमी रहेको देखिन्छ। म्याग्दीबाट भारतसहित तेस्रो मुलुकमा बिदेसिनेको संख्या १० हजार ७१३ रहेको छ। जसमा पुरुष आठ हजार ८४३ र महिला एक हजार ८७० रहेका छन् । २५ हजार ३७४ घरधुरी, २९ हजार दुई ४२ परिवारको बसोबास छ। ९५.८७ लैंगिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको जनाइएको छ। 

जिल्लाको कुल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत रहेको छ। सुविधाको खोजीमा गाउँका अलि हुनेखानेहरू बसाइँसराइ गरेर सहर केन्द्रित हुन थालेपछि ग्रामीण बस्तीमा बसोबास गर्ने पातलिँदै गएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। “घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएको छ। संघीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन,” उनले भने।

भण्डारीले शिक्षित र आर्थिक रूपमा सम्पन्न मात्रै नभई आर्थिक अवस्था कमजोर भएका परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकामा चिन्ता व्यक्त गरे। संघीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँलाई आकर्षित गर्न नसकेको उनको भनाइ थियो। 

“बसाइँसराइका कारण ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या कम छ। गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने भएकाले खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ। युवा विदेशमा छन्। अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ,” मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भने। उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरे पनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले युवा शहर बजार र विदेश जाने गरेका बताए।

बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि बिरानो बन्दै गएको जनप्रतिनिधिको भनाइ छ। म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जनसंख्या रहेकामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार ३७२ रहेको छ। यहाँका ६ वटै स्थानीय तहका अधिकांश गाउँमा २०७७ सालमै मोटरबाटो पुगेको छ। धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाबाहेक जिल्लाका अरू ३९ वडामा मोटरबाटोका साथै बिजुली पनि पुगेको छ।

खानेपानीका धारा घरघरमा पुगेका छन्। टेलिफोन टावर, विद्यालय, सबै वडामा स्वास्थ्य चौकी बनेका छन्। विकास गाउँमा पुगे पनि गाउँबाट धमाधम बसाइँ सर्नेको संख्या पनि बढ्दै गएको मालिका–६ का वीरबहादुर सिउथानीले बताए। स्थानीय, प्रदेश तथा संघ सरकारले बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

जिल्लामा बसाइँसराइलाई कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदे बाली लगायतलाई प्राथमिकता दिने स्थानीय पालिकाले जनाएका छन्। बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारी, बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षालगायत विविध कारणले आन्तरिक बसाइँसराइको संख्या बढ्दै गएको छ।