रोग किराको असर: लमजुङमा घट्यो सुन्तला उत्पादन

विभिन्न रोग कीराको आक्रमण तथा सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

लमजुङ– लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो। 

बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा ६०० भन्दा बढी सुन्तलाको बोट लगाएका छन्। उनले एक दशकअघि बर्सेनि ६ लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए। तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ। यस वर्ष मुस्किलले ८० हजारसम्म आम्दानी गरेको उनले सुनाए। घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताए। 

जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ। दशक अघिसम्म उक्त गाउँका किसानले सुन्तला बिक्रीबाट वार्षिक दुई करोडसम्म आम्दानी गरेका थिए। छ/सात वर्षयता १० लाख मात्रै आम्दानी भएको स्थानीय रमेशराज पन्तले बताए। पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँशहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन्।

कृषि ज्ञान केन्द्रका  सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा १३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। पोहोर १२५ हेक्टरमा ५२५ मेट्रिक टन उत्पादन भएको थियो। सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भएपनि उत्पादन घटेको छ। 

त्यस्तै, २०७८/७९ मा १८० हेक्टरमा एक हजार २४० र २०७७/७८ मा २१३ हेक्टरमा एक हजार ४२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।  विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ।

सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ। जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ।