सहकारी नियमन गर्ने छुट्टै निकाय गठनको तयारी हुँदैछ: अर्थमन्त्री

सहकारी नियमनको अभावमा समस्या आएको तर, बचत दुरुपयोग गर्नेहरू कानूनको कठघरामा उभिनैपर्ने अर्थमन्त्री महतको भनाइ छ।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले महतले सहकारीको नियमनका लागि वैकल्पिक निकाय गठनको तयारी भइरहेको बताएका छन्। 

शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारीको रजत महोत्सवमा बोल्दै मन्त्री महतले  बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको उल्लेख गरे।

नियमनको अभावमा समस्या आएको तर, सहकारीको बचत दुरुपयोग गर्नेहरू कानूनको कठघरामा उभिनैपर्ने उनको भनाइ थियो।

“बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एकक्षणका लागि कानूनको दायराबाट भाग्लान्। तर सधैँ भाग्न सक्दैन,” उनले भने, “कानूनको कठघरामा अवश्य आउँछन्। मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन।”

यस्तै, निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रूपान्तरण सम्भव नभएको अर्थमन्त्री महतको भनाइ थियो। 

“त्यसकारण सहकारीलाई हामीले प्रवर्द्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रूपान्तरणको हतियार बन्छ,” उनले भने, “अन्धकारमुक्ति सहकारी संस्था उदाहरण बनेको छ। देशैभर नै सहकारी यसरी नै उदाहरणीय बनेर काम गर्नुपर्छ।”