राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय

सिट बाँडफाँट टुंगो लगाउन शनिबार अपराह्न चार बजे फेरि गठबन्धनको बैठक बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

काठमाडौँ– सत्ता गठबन्धनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ। 

शनिबार बालुवाटारमा बसेको बैठकले सत्तारुढ गठबन्धनमा रहेका दल मात्रै मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।  

सत्ता गठबन्धनले सदाशयतापूर्वक सबैसँग मिलेर जाने भने पनि एमालेसँग कुरा नमिलेपछि अब गठबन्धन मिलेर चुनाव लड्ने उनले बताए। 

“एउटा बृहत् लोकतान्त्रिक धारणाका साथ जान सत्ता पक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्षबीच राष्ट्रिय सभाका निम्ति मिलेर अघि बढ्न सकिन्छ भनेर छलफल भइरहेको थियो,” उनले भने, “तर त्यस्तो सम्भावना टरेकाले गठबन्धनबीच मात्र सिटको बाँडफाँट हुनेछ।”

सिट बाँडफाँट टुंगो लगाउन शनिबार अपराह्न चार बजे फेरि गठबन्धनको बैठक बस्नेछ। 

“राष्ट्रियसभा सदस्य निर्वाचनको विषयमा सरकारमा सहभागी चार दलका नेताबीच छलफल भएको छ,”  उने भने, “आज फेरि ४ बजे पुनः गठबन्धनको बैठक बस्ने र पाँच बजे सरकारमा सहभागी सबै दल र सरकारलाई सहयोग गरिरहेका दलको पनि बैठक गरेर टुंगो लगाउने निर्णय भएको छ।”

एमालेले शुक्रबार नै राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय गरिसकेको छ।