बरहथवा घटनाका दोषीमाथि कडा कारबाही गर्ने सर्लाहीका प्रजिअको प्रतिबद्धता

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ– सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा स्थानीय जयशंकर साहको मृत्यु भएको थियो।

शनिबार जिल्ला सुरक्षा समिति, सर्लाहीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी धमलाले जारी गरेको अपिलमा उक्त घटनाप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

“यस प्रकारको दुखद घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही, मानवीय क्षतिको उचित सम्बोधनको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” जिल्ला सुरक्षा समिति सर्लाही अध्यक्ष धमलाबाट जारी अपिलमा भनिएको छ। अपिलमा थप अप्रिय घटना हुन नदिन सुरक्षा समिति संवेदनशील रहेको जनाइएका छ।

आन्दोलित पक्षले साहको शव घटनास्थलबाट उठाउन दिएको छैन। उनीहरूले दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राखेका छन्। 

त्यस्तै, नेपाली कांग्रेसले बरहथवामा शुक्रबार भएको प्रदर्शनका क्रममा स्थानीय युवा साहको मृत्यु भएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति भनिएको छ, “घटनाको सत्यतथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।” 

आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहनसमेत कांग्रेसले आग्रह गरेको छ।