इटालियन सिरी ए: इन्टर मिलानलाई ५ अंकको अग्रता

शनिबार राति भएको खेलमा इन्टर मिलानले भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। जितपछि इन्टर युभेन्टसलाई ५ अंकले पछि पार्दै ४८ अंकसहित शीर्ष स्थानमा छ।

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अंकको अग्रता बनाएको छ। 

शनिबार राति भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि दोस्रो स्थानको युभेन्टसलाई ५ अंकले पछि पारेको हो। इन्टरको १९ खेलबाट ४८ अंक भएको छ। एक खेल कम खेलेको युभेन्टसको ४३ अंक छ।

घरेलु मैदानमा इन्टरको जितमा लाउतारो मार्टिनेज  र डेभिड फ्राटेसीले १–१ गोल गरे। भेरोनाका थोमस हेनरीले १ गोल फर्काए।

१३औँ मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए। ७४औँ मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो।

तर, दोस्रो हाफको अतिरिक्त समयमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए। 

अतिरिक्त समयको पाँचौँ मिनेटमा भेरोना १० खेलाडीमा समेटियो। डारको लाजोभिकले रातो कार्ड पाउँदै मैदान छाडेका थिए।

१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १०औँ मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो। भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८औँ स्थानमा छ।