अलैँचीको मूल्य ४ वर्षयताकै उच्च, प्रतिमन ८५ हजार पुग्यो

गत साल पुसमा २८ हजार रुपैयाँ प्रतिमन बिक्री भएको अलैँची खहिले ८५ हजारमा बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण नेपालमा अलैँचीको मूल्य बढेको व्यवसायी बताउँछन्।

इलाम– अलैँचीको मूल्य बढेपछि इलामका किसान खुशी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ। “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जंगल फाँडेर सबै अलैँची रोपिन्छ,” सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो।” 

अलैँचीको भाउ गत वर्षभन्दा झन्डै तीन गुणा बढीले बढेको व्यवसायी जीवन पाण्डेले बताए। “गत वर्ष यस याममा प्रतिमन २८ हजार रुपैयाँ थियो, हाल राम्रो अलैँची प्रतिमन ८५ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ,” उनले भने। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ। किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उनले बताए। रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्‍याउने प्रयास गरिरहेका छन्।

सूर्योदय–१ बांगिनका बिरेन शेरेङले करिब १०० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। “वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक आठ–दश लाख बचत हराएको छैन,” उनले भने। आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन। अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताए।

जिल्लामा यस वर्ष एक हजार ३२० मेट्रिक टन अलैँची उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ७.९६ प्रतिशतले धेरै हो। एक हजार ७५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामको तथ्यांक छ।

कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गत आवमा एक हजार २१५ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो। “अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ,” उनले भने। दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो। अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो। तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो। विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाखसम्म पनि पुग्यो।

रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्‍याउने प्रयास थालेका छन्। “पाखामा गाडेरमात्र नहुँदोरहेछ, स्याहार र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ,” किसान शेरेङले भने, “रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो।” 

उनले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताएका छन्। अलैँची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुगेको बताउँछन्। “मेरोमा उत्पादन भएको अलैँची बागलुङ, पोखरा, स्याङ्जातिर पनि बिक्री भएको छ,” उनले भने, “मैलै सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आगामी वर्ष बृहत् गर्नुछ।”

प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ। अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठे मलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो। किसानले अलैँचीका लागि संघसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो।

अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन्। घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ। दशकअघिको खेती प्रविधि सम्झँदै उनले भने, “त्योबेला अलैँची त दुःख नगरी फल्दो रहेछ, जबरजस्ती आम्दानी लिएछौँ।” सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उनले बताए। किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ। जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

अलैँचीखेती समुद्री सतहबाट ७०० देखि दुई हजार १०० मिटर उचाइसम्म हुने गरेको छ। यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ।