राष्ट्रियसभा निर्वाचन: गठबन्धनले टुंग्यायो १९ सिटको भागबन्डा

नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ।

काठमाडौँ– सत्ता गठबन्धनले राष्ट्रियसभाको १९ सिटमा भागबन्डा टुंगो लगाएको छ। 

आइतबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएको हो। 

निर्वाचन हुन लागेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। 

“राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र समर्थन गर्ने दलबीच संयुक्त उम्मेदवारी दिने विषय टुंगो लाग्यो। अब आफ्नो पार्टीमा छलफल गर्छौं,” उनले भने, “क्लस्टरबारे पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ।” 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन र सोमबार उम्मेदवारको मनोनयन दर्ताको कार्य तालिका छ।

उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते र अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ।