अदालतको आदेशपछि टुटलाका संस्थापक शिक्षित भट्ट रिहा

प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरीपछि भट्ट गत बिहीबार पक्राउ परेका थिए।

काठमाडौँ– राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरीपछि भट्ट गत बिहीबार पक्राउ परेका थिए। आइतबार बसेको न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले भट्टलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो। अदालतले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको भन्दै रिहा गर्न आदेश दिएको हो।

"यसमा यिनै जाहेरवालाले यी प्रतिवादीविरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०-एफजे-००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०–०६–२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भइसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिँदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नू भनी प्रस्तुत आदेश गरिदिएको छ," अदालतले आदेशमा भनेको छ।

भट्ट र टुटल स्थापना गर्दाका उनका साझेदारबीच लामो समयदेखि प्रतिलिपि अधिकारसम्बन्धी विवाद चलिरहेको थियो। सहमतिविपरीत टुटल सञ्चालनमा ल्याएको भन्दै साझेदारले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा भट्टविरुद्ध उजुरी दिएका थिए।

रजिस्ट्रारको कार्यालयमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी पुगेपछि भट्ट पक्राउ परेका थिए। प्रहरीले पक्राउ परेका भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थप्न अदालतमा पेश गरेको थियो।