राष्ट्रियसभा निर्वाचन : सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ।

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ।

निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको नामावलीअनुसार निर्वाचनमा २ हजार ४७ मतदाताले मतदान गर्ने छन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा ५४९ प्रदेशसभा सदस्य र १ हजार ४९८ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।

पौडेलका अनुसार सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा छन्। मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३७४ जना मतदाता छन्।

त्यस्तै, कोशीमा ३६७, बागमतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिममा २२८ मतदाता छन्।

प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ। 

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार रहेको आयोगले जनाएको छ। 

राष्ट्रियसभा सदस्यको रिक्त १९ सदस्यका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ।