बरहथवा घटनाः स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति

स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छन्।

काठमाडौँ– सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ।

अस्पताललाई स्तरोन्नतिको विषयमा शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।

स्थानीय आक्रोशित बनेपछि स्थितिलाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो। परिवार र स्थानीयले विभिन्न माग राखेर मृतक साहको शव उठाउनसमेत दिएका थिएनन्।

विवाद सुल्झाउन आइतबार जिल्ला प्रशासन कार्यालय मलंगवामा बसेको बैठकले प्रदर्शनकारीका प्रतिनिधिसँग ११ बुँदै सहमति गरेसँगै सबै विरोधका कार्यक्रम स्थगित हुने भएका छन्। मृतकको शव पोस्टमार्टमका लागि पठाइने भएको छ।

सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ। अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइने छ भने प्रदर्शनको क्रममा गोली लागेर ज्यान गुमाएका जयशंकर साहको नाममा अस्पतालको नामकरण गरिने छ।

नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको पनि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छन्।

सहमतिका बुँदाहरूमा गृह मन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रूपमा घटनाको छानबिन गर्न सहयोग गर्ने, पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने उल्लेख छ। 

त्यस्तै, दोषी प्रहरीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउने, मृतकलाई शहीद घोषणाको प्रक्रिया अघि बढाउने र आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने पनि सहमति भएको छ।

गृह मन्त्रालयले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने निर्णय गरिसकेको छ।