विश्वकपको समूह ‘ए’ मा रहेको सेनेगल अफ्रिकी च्याम्पियन राष्ट्र हो भने त्यही समूहको नेदरल्यान्ड्स तीन पटकको विश्वकप उपविजेता हो। यी दुई देश मैदान उत्रिँदा दुवैको लक्ष्य पहिलो जित हासिल गर्ने नै हुनेछ।
चार वर्षअघिको रसिया विश्वकपमा समूह विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिएको पोल्यान्डलाई पहिलो खेलमै सेनेगलले नमिठो हार चखाइदिएको थियो। योसँगै सेनेगल रसिया विश्वकपमा जित दर्ता गर्ने पहिलो अफ्रिकी टोली बनेको थियो।
त्यसअघि पहिलो खेलमा अफ्रिकी टोली इजिप्ट, मोरक्को, नाइजेरिया र टयुनिसियाले हार बेहोरिसकेका थिए। सेनेगल चार वर्षपछि सोही इतिहास दोहोर्याउने लक्ष्यका साथ सोमबार राति नेदरल्यान्ड्सविरुद्ध उत्रँदैछ।
नेदरल्यान्ड्स तीनपटको विश्वकप उपविजेता हो। अल थुमामा स्टेडियममा हुने यी दुई टोलीबिचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट शुरू हुनेछ। सेनेगल र नेदरल्यान्ड्सबीच फुटबल मैदानमा भेट हुन लागेको यो पहिलोपटक हो।
अफ्रिकी च्याम्पियन सेनेगलले यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा संयुक्त रूपमा आयोजना भएको १७औँ विश्वकपको पहिलो खेलमा साबिकको विजेता फ्रान्सलाई १-० ले हराएको थियो। त्यसको १६ वर्षपछि सेनेगलले सोही सफलतालाई दोहोर्याउँदै रसिया विश्वकपको आफ्नो पहिलो खेलमा पोल्यान्डविरुद्ध २-१ को जित निकाल्यो।
सेनेगलका प्रशिक्षक अलिओ सिसेलाई त्यही गर्विलो इतिहास दोहोर्याउने चुनौती छ। सिसे २००२ को विश्वकप खेल्ने सेनेगलको टिमका सदस्य पनि हुन्। सो विश्वकपमा सेनेगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो।
त्यस विश्वकपको समूह चरणमा फ्रान्सलाई हराएको सेनेगलले डेनमार्कलाई १-१ र उरूग्वेलाई ३-३ गोलको बराबरीमा रोक्न सफल भएको थियो। त्यसपछि राउन्ड अफ-१६ मा स्विडेनलाई २-१ ले पराजित गरेर क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा भने त्यो उच्च लयलाई कायम गर्न सकेन। टर्कीसँग खेलको अतिरिक्त समयमा १-० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
सन् २००२ पछि १६ वर्ष विश्वकपमा छनोट हुन नसकेको सेनेगलले रसिया विश्वकपमा भने पुरानो लयलाई कायम गर्न सकेन र समूह चरणबाटै बाहिरियो। फ्रान्ससँग साँघुरो जित निकालेको सेनेगल दोस्रो खेलमा आयोजक जापानसँग २-२ गोलको बराबरीमा रोकियो। यस्तै, तेस्रो तथा अन्तिम खेलमा कोलम्बियासँग १-० ले पराजित हुन पुग्यो।
मुख्य प्रशिक्षक सिसे यस पटकको विश्वकपमा भने फरक नतिजाको आशामा छन्। उनले कम्तीमा पनि सेनेगललाई क्वार्टरफाइनलबाट अगाडि बढाउने लक्ष्य लिएका छन्। “हाम्रो लक्ष्य समूह चरण पार गर्दै क्वार्टरफाइनलबाट अगाडि बढ्नु नै हो। यसपटक त्यो लक्ष्य पार गरेर इतिहासको पानामा नाम लेखाउने छौँ,” उनको भनाइ उधृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सेनेगलले गत फेब्रुअरीमा इजिप्टलाई पेनाल्टी शुटआउटमा ४-२ ले हराउँदै पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो। त्यसको अर्को महिना विश्वकप छनोटको प्लेअफमा पनि सेनेगलले इजिप्टलाई नै पेनाल्टी शुटआउटमा ३-१ मा हराउँदै कतारको टिकट काढ्न सफल भयो।
मानेबिनाको सेनेगल
सेनेगल आफ्नो स्टार फरवार्ड साडियो मानेबिना नै मैदान उत्रिने तयारीमा छ। दुई पटक ‘अफ्रिकन फुटबल वर्ष खेलाडी’ चुनिएका माने सेनेगलको २६ सदस्य सूचीमा थिए। मानेकै पेनाल्टी गोलमा इजिप्टलाई हराउँदै सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्स जितेको थियो।
तर, घुँडाको शल्यक्रियापछि मानेले खेल्न विश्वकप गुमाएका छन्। बिहीबार मानेको एमआरआई भएको थियो। एमआरआईको रिपोर्टअनुसार मानेको शल्यक्रिया गर्नुपर्ने देखिएको सेनेगल फुटबल संघले विज्ञप्तिमार्फत जनाएको छ।
यसअघि संघले मानेलाई नेदरल्यान्ड्सविरूद्धको खेलबाट मात्र बाहिर राखेको जनाएको थियो। संघका अनुसार शल्यक्रियापछि माने फिट हुन समय लाग्ने छ। त्यहीकारण मानेलाई विश्वकप टोलीबाट बाहिर राखेको संघको तर्क छ।
यता, जर्मन क्लब बायर्न म्युखिनले पनि विज्ञप्ति निकाल्दै मानेको शल्यक्रिया गर्नुपर्ने जनाएको छ। “बिहीबारको रिपोर्टअनुसार मानेको शल्यक्रिया गर्नुपर्छ। हामी यसका लागि तयारी अवस्थामा छौँ,” बायर्नले भनेको छ।
बुन्डेस लिगाअन्तर्गत ८ नोभेम्बरमा माने वार्डनविरुद्ध खेल्दा घाइते भएका थिए। यसै सिजन इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट माने बुन्डेसलिगा क्लब बायर्न म्युनिख भित्रिएका हुन्। मानेले १४ खेलमा ६ गोल र तीन गोलका लागि अवसर जुराइदिएका छन्। बायर्नका अनुसार मानेले म्युनिखमा केही दिनपछि रिहाब शुरू गर्नेछन्।
मानेको स्थानमा सेनेगलको आक्रमण लाइन इटालियन सिरि ‘ए’ क्लब सालेरनिटानाका फरवार्ड बोलाये डियोले सम्हाल्ने छन्। उनले यस सिजनको १४ सिरि ‘ए’ खेलहरूमा ६ गोल गरिसकेका छन् भने दुई गोलका लागि सहयोग गरेका छन्।
अफ्रिकी च्याम्पियनसिपयता खेलेको दुई मैत्रीपूर्ण खेलमा सेनेगल अपराजित छ। बोलिभियाविरूद्ध २-० को जित निकालेको थियो भने इरानविरूद्धको मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा रोकिएको थियो।
आठ वर्षपछि सुखद् शुरूआत गर्ने लक्ष्यमा नेदरल्यान्ड्स
रसिया विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स आठ वर्षपछि विश्वकपमा फर्किएको छ। अनुभवी प्रशिक्षक लुइस भान गालको आगमनपछि नेदरल्यान्ड्सले गतिलो प्रदर्शन गर्दै आएको छ। पछिल्लो १५ खेलमा नेदरल्यान्ड्सले ११ जित र ४ बराबरीको नतिजा निकालेको छ।
कतार विश्वकपअगाडि प्रशिक्षक गालको विश्वास पनि उत्कृष्ट लय निकाल्नेमै छ। “हामीसँग विश्वस्तरिय खेलाडी छन्। तर, म टोली निर्माण र रणनीतिमा विश्वास गर्छु। जारी विश्वकपको यात्रामा हामी धेरै टाढा जान सक्छौँ भन्नेमा मलाई विश्वास छ,” उनले भनेका छन्।
विश्वकप इतिहासको पाना पल्टाउने हो भने नेदरल्यान्ड्सले हालसम्म समूह चरणमा खेलेको ३० मध्ये दुई खेलमा मात्र पराजय भोगेको छ। सन् १९९८ यता नेदरल्यान्ड्सले समूह चरणमा हारको सामना गर्नुपरेको छैन।
अमेरिका र वेल्स पनि भिड्दै
सोमबार नै समूह ‘बी’ मा रहेको वेल्स अमेरिकाविरुद्ध जित निकाल्दै विश्वकपमा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। वेल्सले विश्वकपमा पुग्न निकै लामो यात्रा तय गरेको छ। प्रशिक्षक रोब पेजको टोली सन् १९५८ पछि ६४ वर्षमा विश्वकपमा फर्किएको हो।
यता, अमेरिका करिब आठ वर्षपछि विश्वकपमा फर्किएको छ। सन् २०१४ मा ब्राजिलमा आयोजना भएको २०औँ संस्करणको विश्वकपमा अन्तिम १६ मा पुगेको अमेरिका रसिया विश्वकपमा भने छनोट हुन सकेन।
अमेरिकी प्रशिक्षक ग्रेग बर्हाल्टरले सोमबार प्रतियोगिताका लागि नयाँ कप्तानको घोषणा गरेका छन्। टोलीको नयाँ कप्तान २३ वर्षीय टायलर एडम्स हुन्। उनी अमेरिकाका कान्छा कप्तान हुन्।
अमेरिकाले आफ्नो स्टार फरवार्ड क्रिस्चियन पुलिसिकबाट सानदार प्रदर्शनको आशा गर्नेछ। इङ्लिस प्रिमियर लिग चेल्सीबाट खेल्दै आएका उनले १३ खेलमा मात्रै एक गोल गरेका छन् भने एक गोलका लागि अवसर सिर्जना गरेका छन्।
अमेरिका र वेल्सबिच दुई पटक मात्रै भेट भएको छ। सन् २००३ मा आयोजना भएको मैत्रीपूर्ण खेलमा अमेरिका २-० ले विजयी भएको थियो। यस्तै सन् २०२० मा भएको मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो। यी दुई टिमबीच राति १२:४५ मा खेल हुनेछ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
