पाकिस्तानमा बम विस्फोट हुँदा ५ प्रहरीको मृत्यु, दर्जनाैँ घाइते

पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई लक्षित गर्दै आक्रमण भएको हो।

फाइल तस्वीर

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वामा सोमबार भएको शक्तिशाली बम विस्फोटमा परेर पाँच जना प्रहरीको मृत्यु भएको छ।

प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी भएको उक्त विस्फोटमा परेर अन्य २२ जना घाइते भएका एनडीटीभीले जनाएको छ। बाजौर जिल्लामा पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई ट्रकमा लैजाँदै गर्दा आक्रमण भएको हो। घाइतेहरूलाई बाजौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ।

प्रहरी टोलीलाई निशाना बनाइएको स्थान बाजौरको मामुन्द क्षेत्र हो र यो क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएको छ। सन् २०२१ मा अफगानिस्तानमा तालिबान शासन सत्तामा आएदेखि अफगानिस्तानसँगको सीमा क्षेत्र पाकिस्तानमा आक्रमण बढेको छ। अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन।

यसअघि आइतबार पनि पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी हमलामा चार जनाको मृत्यु भएको थियो। अज्ञात बन्दुकधारीहरूले दुईवटा गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए। पाराचिनारबाट पेशावर जाने बाटोमा आक्रमण भएको हो। हालसम्म कुनै पनि आतंकवादी संगठनले उक्त हमलाको पनि जिम्मेवारी लिएको छैन। यद्यपि, यो क्षेत्र शिया र सुन्नीहरू बीचको साम्प्रदायिक हिंसाका लागि पनि परिचित छ। 

सन् २०२३ मा पाकिस्तानको खैबर पख्तुनख्वामा ४१९ आतंकवादी हमला भएका थिए। उक्त हमलामा ६२० जनाको मृत्यु भएको थियो। मारिनेमा ३०६ सुरक्षाकर्मी, २२२ सर्वसाधारण र ९२ आतंककारी थिए।